चितवन । चितवनमा अनलाइन फुड डेलिभरी कम्पनी चितवन फुडल्याण्डले ‘अनलाइन फुड महोत्सव’ गर्ने भएको छ ।
फुडल्याण्डले भाद्र १ र २ गते ४८ घण्टाका लागि ‘अनलाइन फुड महोत्सव’ आयोजना गर्ने भएको हो । महोत्सव अवधिभर ग्राहकले खाजाका बिभिन्न परिकारमा अधिकतम छुट पाउन सक्ने कम्पनीले जानकारी दिएको छ ।
यसका लागि ग्राहकहरुले प्लेस्टोरबाट चितवन फुडल्याण्डको मोबाइल एप डाउनलोड गर्नुपर्ने हुन्छ । उक्त एपमा लग इन गरेर भाद्र १ र २ गते अनलाइन फुड अर्डर गर्दा ५० प्रतिशतसम्म छुट पाउन सकिने बताइएको छ । महोत्सव अवधिमा बजारमा पाइने मुल्य भन्दा कममा विभिन्न परिकारहरु खरीद गर्न सकिनेछ।
फुडल्याण्डले चितवनका अहिले ५० भन्दा बढी रेष्टुरेन्टहरुसँग सहकार्य गरिरहेको छ । ती मध्ये अटाली, हङग्री टम, भज्जु रेष्टुरेन्ट, बेल्ना, क्वालिटी फुड र ज्याङ्कोज फेमली रेष्ट्रो गरी ६ वटा रेष्टुरेन्टले महोत्सवलाई प्रायोजन गर्ने फुडल्याण्डका सञ्चालक मान श्रेष्ठले जानकारी दिए । उनका अनुसार यि ६ वटै रेष्टुरेन्टबाट कुनै पनि परिकार अर्डर गर्दा भारी छुट पाइने छ । महोत्सवको दुबै दिनमा पनि दिउँसो १ देखि ३ बजेको अवधिमा अझै धेरै छुट पाउन सकिने श्रेष्ठको भनाई छ ।
यस किसिमको महोत्सव उपत्यका बाहिर नै पहिलो पटक आयोजना गर्न लागिएको उनले बताए । कोरोना महामारीका कारण रेष्टुरेन्टमा बसेर खाने अवस्था नरहे पनि घरमा नै चाहे अनुसारको परिकार उपलब्ध गराउने उद्धेश्यका साथ महोत्सव आयोजना गरिएको उनको भनाइ छ । महोत्सवले उपभोक्तालाई नयाँपन दिने समेत उनको विश्वास छ ।
चितवन फुडल्याण्डले एपबाट डेलिभरी सेवा दिन दिइरहेको छ । फुडल्याण्डले अहिले ३० किलो मिटर वरपरको क्षेत्रमा डेलिभरी सेवा दिइरहेको छ ।