चितवन। भोट माग्न हिँड्दै गर्दा भरतपुर महानगरपालिका–२१ पार्वतीपुरमा आफ्ना एक बिरामीलाई यसै क्षेत्रका प्रतिनिधिसभाका उम्मेदवार डा भोजराज अधिकारीले माइकबाट ‘थाइराइड ठीक छ ?’ भनेर गरिएको प्रश्न टिकटकमा यतिबेला धेरैले हेरिरहेका छन् । फिजिसियन डा अधिकारीले उक्त क्षेत्रका धेरै बिरामीको थाइराइड, उच्च रक्तचाप, मधुमेहजस्ता दीर्घरोगको नियमित परीक्षण गर्दै आउनुभएको थियो ।
आफ्नो बिरामी देख्नेबित्तिकै डा अधिकारीको पहिलो प्रश्न हुने गर्दछ, स्वास्थ्यको । बिमारअनुसार उहाँले अवस्था सोध्ने र बुझ्ने गर्नुहुन्छ । झण्डा हालिएको गाडीमा पछाडि भोट माग्ने अभियानमा आफ्नो क्षेत्रका धेरै मतदाता अधिकारीका नियमित बिरामी छन् । मतदाताले विकास निर्माणभन्दा स्वास्थ्यका कुरा धेरै सोध्ने गर्नुभएको छ ।
अधिकारीसँगै प्रचारमा रहनुभएका साजन अधिकारीका अनुसार पहिलो प्रश्न उपचारकै हुने गर्दछ । लामो समयदेखि अधिकारीको परीक्षणमा औषधि खाइरहेकाहरूले जितेर आफूहरूलाई नजाँच्ने हो भने भोट नै हाल्दैनौँसमेत भन्ने गरेका छन् । डा अधिकारीले भन्नुभयो, “मसँग धेरैले स्वास्थ्यको प्रश्न गर्छन् ।” हिँड्दै गर्दा आफ्ना बिरामी देखेपछि सोध्न मन लाग्ने भन्दै उहाँले फकाउनका लागि भन्दा पनि अरु बेलामा झैँ सोध्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो “अरु बेलामा पनि म बिरामीलाई भेटेपछि स्वास्थ्य अवस्थाका बारेमा सोध्ने गर्छु ।”
भरतपुर अस्पताल विकास समितिका अध्यक्षबाट राजीनामा दिएर चुनावी मैदानमा उभिनुभएका अधिकारी जिल्लाका चिनिएका फिजिसियन डाक्टर हुनुहुन्छ । दुई हजारभन्दा बढी आफ्ना नियमित बिरामी आफू चुनाव लड्दै गरेको क्षेत्रमा रहेको उहाँको भनाइ छ । प्रचारकै क्रममा कतिपय बिरामी प्रेस्क्रिप्सन बोकेर देखाउन आउने गर्दछन् । कतिपय जटिल बिरामीलाई डा अधिकारीले गाडीबाट झरेर अवस्था बुझी आवश्यक सुझाव दिने गर्नुभएको छ ।
औषधि सकिएकाहरूलाई थप गर्न र मङ्सिर १० गतेपछि अस्पताल आउन डाक्टरले सुझाव दिने गरेको सहयोगी साजनले बताउनुभयो । कतिपयले आफू डाक्टरको उपचारले निको भएको भन्दै खुशी प्रकट गर्ने गरेको साजनको भनाइ छ । दश वर्षपछि राजनीति गर्ने तयारीमा रहनुभएका अधिकारी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखामा निर्वाचनमा उम्मेदवार हुन गएपछि दाहालको उत्तराधिकारीका रूपमा चितवन क्षेत्र नं ३ बाट उम्मेदवार हुनुहुन्छ ।