काठमाडौँ। ‘अहिले हाम्रो पार्टी पाँचवटा घेराबन्दी र संकटमा फसेको छ,’ नेकपा एमालेका एक केन्द्रीय सदस्यले भने, ‘सबै घेराबन्दी तोड्न सकिन्थ्यो तर पार्टी अध्यक्ष र महासचिवको कार्यशैलीका कारण हामी झन–झन फस्यौं।’
आम निर्वाचनको मुखैमा एमाले नेताको यस्तो अभिव्यक्तिले पार्टीभित्र छाएको निराशालाई मात्र बताउँदैन, एमालेभित्र चुलिँदै गएको असन्तुष्टि र अन्तरविरोध पनि यसमा प्रकट हुन्छ।
एमालेका ती नेता यसलाई अझै स्पष्ट पार्दै भन्छन्, ‘एमालेभित्र आग्रह र पूर्वाग्रहको राजनीतिको अन्त्य भएन। यसलाई अध्यक्ष केपी ओली र महासचिव शंकर पोखरेलले व्यवस्थापन गर्न सक्नुपर्थ्यो, उहाँहरुले सक्नुभएन। यो नै एमालेको पछिल्लो अवधिको सबैभन्दा ठूलो संकट हो।’
एमालेले भोग्नुपरेका पाँचवटा चुनौतीको वर्णन गर्दै ती नेताले भने–
पहिलो चुनौती – वाम गठबन्धन टुट्नु।
दोस्रो चुनौती – नेकपा एमाले फुट्नु।
तेस्रो चुनौती – कांग्रेस, माओवादीको गठबन्धन बन्नु।
चौथो चुनौती – नेताहरुले देशी–विदेशी प्रतिक्रियावादीहरुको षड्यन्त्रलाई नचिन्नु। यसपल्ट एमालेलाई बढार्ने र अन्ततः नेपालबाट वामपन्थीलाई सखाप पार्ने विदेशीहरुको रणनीति नबुझनु।
र, पाँचौं चुनौती– पार्टीमा सामुहिक निर्णयमा चल्नुको सट्टा आफूलाई सर्वज्ञानी ठान्ने केपी ओली र मनोगतवादी ढंगले चल्ने शंकर पोखरेलको कार्यशैलीका कारण एमाले आन्तरिक अन्तरविरोधमा फस्नु।
केपी ओलीकै निकट मानिने एमालेका ती नेताका अनुसार समानुपातिकको बन्दसूची बनाउने क्रममा पार्टी अन्तरविरोधमा फसेको हो। उनी भन्छन्, ‘कमिटी प्रणालीमाथि भरोसा नगर्ने कुराले पार्टी कमजोर भयो। पहिलोदेखि चौथोसम्म चारैवटा चुनौती एमालेले लगभग क्रस गरेको थियो तर, यो पाँचौं संकटमा आएर फसियो।’
अहिले देशी विदेशी प्रतिक्रियावादीहरुले दक्षिणपन्थीहरुलाई शक्तिमा ल्याउने र वामपन्थीलाई सिध्याउने रणनीति बनाइरहेको र यो रणनीतिलाई ओली, प्रचण्ड माधव नेपाल कसैले पनि समयमै चिन्न नसकेको ती नेताको गुनासो छ। उनी भन्छन् ‘मध्यमार्गी कांग्रेसलाई बलियो पार्नका लागि दक्षिणपन्थीलाई अगाडि ल्याउने काम भइरहेको छ।’
एमालेका ती नेताले घोर दक्षिणपन्थीहरुलाई बलियो पारेर वामपन्थीमाथि प्रहार गर्न खोजिएको बताइरहँदा एमाले अध्यक्ष केपी शर्मा ओलीले भने राजावादी पार्टी राप्रपासँग चुनावी तालमेलको नीति अघि बढाएका छन्। साथै विगतमा एकातिर एमाले अर्कातिर कांग्रेसबीच ध्रुवीकरण भइरहेको बताउने एमाले नेतृत्वले अहिले गठबन्धन गरेर चुनावमा जाने नीति लिएको छ र जसपालाई समेत भटाभट सिटहरु छाडिरहेको छ।
राप्रपा र जसपासँग तालमेल गर्ने निर्णयका कारणले पनि एमालेभित्र अन्तरविरोध बढेको देखिएको छ।
केपी ओली निकट ती नेता यसलाई स्वीकार्दै अगाडि भन्छन्, ‘हामी एक्लै, आफ्नै खुट्टामा उभिन सक्नुपर्थ्यो।’
तेस्रो धारलाई बाइपास
एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सिनियर नेता भीम रावललाई प्रतिनिधिसभाका लागि ढोका बन्द गरेर पूर्वाग्रह साँधेका छन्।
महासचिव शंकर पोखरेलकी बहिनी समानुपातिक सूचीको एक नम्बरमा अटाउँदा अछामका भीम रावल कतै अटाएनन्।
एमाले नेताहरुलाई होली वाइन खुवाउने एकनाथ ढकाल समानुपातिक उम्मेदवार बन्दा वैचारिक नेता घनश्याम भुसालको टिकट खोसियो।
एमाले नेतृत्वले देखाएको यो व्यवहारका कारण पार्टीभित्रको १० बुँदे पक्षधर नेताहरु पूरै निराश देखिएका छन्। र, यो निराशाले ओली समूहकै नेताहरुलाई समेत छोएको छ।
टिकट वितरणकै क्रममा एमाले मोरङमा असन्तुष्टि चुलिएपछि पार्टी नेता गुरु बराल बिराटनगरबाट रातारात काठमाडौं हानिएका छन्। मोरङ ५, सुनसरी १ र धनकुटा जसपालाई दिने सहमति गरेपछि एमाले प्रदेश १ मा अन्तरविरोध र असन्तुष्टि चुलिएको नेताहरु बताउँछन्।
उता दाङकी निवर्तमान सांसद गंगा चौधरी सत्गौवाले समानुपातिकमा टिकट नपाएको झोंकमा एमाले परित्याग गरी स्वतन्त्र उठ्ने घोषणा गरेकी छिन्।
सत्ता गठबन्धनमा पनि संकटमा
त्यसो त पाँच दलीय सत्ता गठबन्धन पनि संकटमुक्त देखिँदैन। सरकारमा सहँदा कमाएको बदनामी, जनताको हितमा भन्दा पदको लुछाचुँडीमा गुजारेको समय अनि सिट बाँडफाँटमा देखिएको झगडाका कारण पाँच दलीय गठबन्धनसमेत छिन्न भिन्न बनेको अवस्था छ। यही कारण जसपाले कांग्रेस, माओवादीलाई छाडेर एमालेसँग तालमेल गरेको छ।
सिटको भागवण्डा लगभग टुंगो लगाए पनि बागी उम्मेद्वार उठ्ने र अन्तरघात हुने डरले सत्ता गठबन्धनका नेताहरु त्रसित बनेका छन्।
विशेष गरी नेपाली नेपाली कांग्रेसभित्र शेरबहादुर देउवाले टिकट वितरणमा मनोमानी गरेको शेखर पक्षको आरोप छ।
माओवादीमा पनि प्रचण्डले चितवन छाड्ने निर्णय गरेकोमा छोरी रेनु दाहालले नै सार्वजनिकरुपमै असन्तुष्टि जनाउनुले त्यहाँ पनि निर्णइ प्रक्रियामा भद्रगोल देखिएको स्पष्ट हुन्छ।