काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका ‘भ्रष्टहरू’माथि कडा कारबाही गर्ने चेतावनी दिएका छन् । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको शुक्रबारको बैठकमा बोल्दै उनले सिनेट बैठक बोलाएर छानबिन समिति गठन गरेर ‘प्रतिष्ठानका भ्रष्टहरूमाथि तत्काल कडा कारबाही गर्ने’ बताएका हुन् ।
“बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको विषयमा सरकारले छिट्टै सिनेट बैठक बोलाई छानबिन समिति गठन गर्नेछ । छानबिन समितिले दिएको प्रतिवेदनको आधारमा दोषीमाथि कडा कारबाही हुन्छ,” राज्यमन्त्री श्रेष्ठले भने ।
जनस्वास्थ्यजस्तो संवेदनशील विषयमा खेलबाड गर्नेहरूमाथि कडा कारबाही गर्न सरकारले मन्त्रालयमा छुट्टै अनुगमन इकाइ बनाउन लागेको पनि राज्यमन्त्री श्रेष्ठले जानकारी दिए । उनले सार्वजनिक महत्वको संस्थाहरूलाई जथाभावी गर्न नदिन अनुगमन संयन्त्र बनाउनुपर्ने आवश्यक्ता औँल्याउँदै त्यसतर्फ सहयोग गर्न पनि समिति समक्षआग्रह गरे ।
बैठकमा समितिका सदस्यहरूले जनस्वास्थ्यजस्तो संवदनशील क्षेत्रमा बन्द, हडताल गर्ने कर्मचारीमाथि कडा कारबाही गर्न नसकेको भन्दै सरकारको चर्को आलोचना गरेका थिए ।