काठमाडौं । स्वास्थ्य उपचारका पद्धति र प्रविधिमा नेपालले अगाडि पनि फड्को मारिरहेको छ । यही क्रममा नसा सम्बन्धी जटिल समस्याको उपचारमा अर्को एउटा प्रविधि भित्रिएको छ– क्रानियल रोबर्ट सर्जरी । नेपालमा पहिलोपटक काठमाडौं मेडिकल कलेज प्रा.लि. (केएमसी अस्पताल) ले यो प्रविधिमार्फत् उपचार सेवा सुरु गर्ने भएको हो । क्रानियल रोबर्ट सर्जरी सेवा सुरु गर्ने स्वास्थ्य संस्थामा केएमसी दक्षिण एसियामैै तेस्रो अस्पताल भएको दाबी गरिएको छ ।
के हो क्रानियल रोबर्ट सर्जरी
क्रानियल रोबर्ट सर्जरी रोबोर्टको सहायतामा नसासम्बन्धी कुनैपनि जटिल समस्याको सुरक्षित र सहज शल्यक्रिया गर्ने प्रविधि हो । यो प्रविधिमा न्युरो सर्जनले निर्देशन दिएअनुरूप रोबर्टले नसामा भएको समस्यालाई थ्री डी इमेजको रूपमा देखाउँछ ।
रोबर्टले नशाको कुन भागमा समस्या छ भन्ने ठ्याक्कै पत्ता लगाउँछ भने सो स्थानमसम्म पाइप तथा शल्यक्रियाका अन्य उपकराणहरू पुर्याउन मद्धत गर्छ । यो प्रविधिले शल्यक्रिया अगाडि गरिएका परीक्षण र त्यसमा देखिएका समस्याहरूलाई एकीकृत गरी एकमुस्ट डाटा देखउनसक्छ । यसले शल्यक्रिया गर्दाको समयसम्म व्यक्तिको समस्या कुन अवस्थामा पुगेको छ भनी पहिचान गर्न सहज हुनेछ ।
त्यसैगरी यो विधिबाट शरीरका अन्य भागलाई साइड इफेक्ट नहुनेगरी अथवा अन्य सम्बन्धित अंगहरूलाई जोगाएर सुरक्षित शल्यक्रिया गर्न सकिनेछ ।
कुनकुन समस्यामा यो प्रविधि अपनाउने ?
क्रानियल रोबर्ट सर्जरी नसासम्बन्धी जटिल प्रकारका समस्या र मेरुदण्डको समस्यामा बढी प्रयोग हुने गरेको छ । नेपामा पहिलोपटक भएपनि युरोप, अमेरिका र भारतमा यो प्रविधिको प्रयोग भइसकेको छ । यसले शल्यक्रियामा सहयोग गर्नेमात्र नभई दिमागको कुन भागबाट रोग उत्पादन भएको छ भन्ने कुरा पनि पत्ता लगाउन सहयोग हुन्छ ।
कति सुरक्षित ?
क्रानियल रोबर्ट सर्जरीको रोबर्ट मात्रैले गर्ने शल्यक्रिया भने होइन । न्युरो सर्जनहरूले यसलाई ‘स्लेभ रोबर्ट’ को रूपमा वाख्या गरेका छन् । अर्थात् सर्जनले दिएको इसारा र निर्देशनका आधारमा रोबर्टले काम गर्ने गर्छ । र, यसको प्रयोगले नसासम्बन्धी समस्याको शल्यक्रियापछि अन्य भागमा कुनैपनि असर नपर्ने बताइएको छ ।
केएमसी अस्पतालका वरिष्ठ न्युरो सर्जन डा. अमित थापा अमेरिकाको फुड एन्ड ड्रग एड्मिनिस्ट्रेसन एफडीएबाट प्रमाणित यो प्रविधि ९५ प्रतिसशतसम्म सुरक्षित रहेको बताउँछन् । यो प्रविधिमार्फत् मेरुदण्डको जटिल समस्या भएकाहरूको शल्यक्रिया गरी एकै दिनमा उभिन र हिँड्नसक्ने बनाउने अवधारणासमेत रहेको उनले बताए ।
डा. थापाकै नेतृत्वमा केएमसीमा ४ जना विशेषज्ञहरूको टिमले यो सेवा सञ्चालन गर्नेछ । यो प्रविधिमा सानो प्वालको माध्यमबाट शल्यक्रिया गरिने हुनाले पोस्ट सर्जरी कम्प्लिकेसन नहुने बतायएको छ ।
कति खर्च लाग्छ ?
नेपालमा हालसम्म नसासम्बन्धी समयस्याको शल्यक्रियामा न्युरो न्याभिगेसन लगायतका उपचार प्रविधि प्रयोग हुँदै आएको छ । केएमसी अस्पतालका कार्यकारी अध्यक्ष डा. सुनिल कुमार शर्मा यी विधिको तुलनामा क्रानियल रोबर्ट सर्जरी केही महंगो हुन आएपनि आम नागरिकको आर्थिक पहुँचभित्र रहेर सेवा दिने बताउँछन् ।
डा. शर्माका अनुसार सामान्यतः पाँच सयदेखि सात सय डलरभित्र रहेर नागरिकले क्रानियल रोबर्ट सर्जरीको सेवा लिनसक्नेछन् । अबको केही दिनभित्रै सेवा सुरु गरिने उनले बताए । आम नागरिकलाई गुणस्तरीय न्युरो सम्बन्धी समस्याको उपचारमा सेवा दिन अस्पताल केन्द्रित रहेकाले क्रिनियल सर्जरी सेवाको सुरुवात गरिएको डा. शर्माको भनाइ छ । अस्पतालबाट हालसम्म ६ हजारभन्दा बढीले न्युरो सर्जरी सेवा लिइसकेका छन् ।