चितवन । चितवनमा सक्रिय संक्रमितको संख्या दुई हजार ३२० जना पुगेको छ। मंगलबारभन्दा बुधबार सक्रिय संक्रमितको संख्या १३१ जना बढी हो। मंगलबार यो संख्या जम्मा दुई हजार १८९ जना थियो भने बुधबार यो संख्या बढेर दुई हजार ३२० पुगेको हो। तीमध्ये १८३ जना अस्पतालको आइसोलेसनमा उपचाररत छन् भने १० जना स्थानीय तहले सञ्चालन गरेको आइसोलेसनमा उपचारर छन्।
होम आइसोलेसनमा दुई हजार १२७ जनाले स्वास्थ्य लाभ गरिरहेका स्वास्थ्य कार्यालय चितवनले जनाएको छ। कुल संक्रमितको संख्या भने २१ हजार १६७ पुगेको छ। बुधबार एकैदिन २१५ जना नयाँ संक्रमित थपिएपछि जिल्लाको कुल संक्रमित संख्या २१ हजार १६७ पुगेको हो। कुल संक्रमितमध्ये १८ हजार ५०६ जना भने संक्रमणमुक्त भएका छन्।
पाँच जनाको मृत्यु
चितवनमा बुधबार एकैदिन पाँच जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य कार्यालय चितवनको तथ्यांकअनुसार चितवन मेडिकल कलेजमा तीन जना, भरतपुर अस्पताल र कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा एक/एक जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनकी जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालले जानकारी दिइन्। बुधबार पाँच जनाको मृत्यु भएपछि मृतकको संख्या पनि बढेर ३४१ पुगेको छ।