काठमाडौँ। नेपालका प्रतिष्ठित एवम् प्रमुख दुई थोक-कर्जा प्रदायक लघुवित्त संस्थाहरु क्रमशः साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. र आरएमडीसी लघुवित्त वित्तीय संस्था लि. एक आपसमा गाभिएर साना किसान आरएमडीसी लघुवित्त वित्तीय संस्थाको नामबाट सञ्चालन हुने गरी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
मर्जरपछि हुने अन्तरिम सञ्चालक समितिमा खेम बहादुर पाठक अध्यक्ष, डा. शिवराम प्रसाद कोईराला प्रमुख कार्यकारी अधिकृत र ज्योति चन्द्र ओझा प्रमुख कार्यकारी अधिकृतपछिको कार्यकारी पदमा रहने सहमति भएको छ । साथै, दुबै संस्थाका संस्थापक समूहबाट २/२ जना, सर्वसाधारण समूहबाट १/१ जना र १ जना स्वतन्त्र सञ्चालक रहने व्यवस्था मिलाईएको छ ।
आरएमडीसी लघुवित्त वित्तीय संस्थाको १०० शेयरलाई मर्जरपछि ८७ शेयर (१०० ः ८७) कायम हुने गरी शेयर आदान प्रदान अनुपात (स्वाप रेशियो) कायम गर्ने समेत सहमति भएको छ ।मर्जर पछि यस लघुवित्त वित्तीय संस्थाको पुँजी कोष रु. ७ अर्बभन्दा बढी हुनेछ भने लगानीमा रहेको कर्जा करिब रु. ४३ अर्ब पुग्नेछ ।
नेपाल राष्ट्र बैंकले अख्तियार गरेको मर्जर सम्बन्धी नीतिको सम्मान गर्दै नेपालको कृषि तथा लघुवित्तको क्षेत्रमा लगानी गर्ने बैकल्पिक एवम् सबल विशिष्टिकृत वित्तीय संस्थाको खाँचो पुरा गर्न र समाजका विपन्न तथा सिमान्तकृत वर्गमा सहज एवम् सरल वित्तीय पहुँच अभिवृद्धिका लागि नेपाल सरकारको एक सशक्त एवम् जिम्मेवार वित्तीय साझेदारको रुपमा स्थापित हुन यो मर्जर गरिएको हो ।
नेपाल सरकार, अर्थमन्त्रालयका वित्त सल्लाहकार डा. शालिकराम पोख्रेलको प्रमुख आतिथ्यमा शुक्रबार भएको समझदारी पत्र हस्ताक्षर कार्यक्रममा साना किसान विकास लघुवित्त वित्तीय संस्थाका अध्यक्ष खेम बहादुर पाठक र मर्जर उपसमितिका संयोजक उमेश लम्साल तथा आरएमडीसी लघुवित्त वित्तीय संस्था लि.का अध्यक्ष सुजाता जोशी र संयुक्त मर्जर समितिका संयोजक भिम प्रसाद तिम्सिनाले समझदारी पत्रमा हस्ताक्षर गरी आदान प्रदान गर्नु भएको थियो ।
कार्यक्रममा दुबै वित्तीय संस्थाका सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृतहरु, उच्चपदस्थ अधिकारीहरु, मर्जर समितिका पदाधिकारीहरुको उपस्थिति थियो ।