चितवन । नारायणगढको नारायणी नदि किनारमा कटन क्यान्डी (कपास जस्तो देखिने मिठाइँ) बाँधेको एउटा लौरी काँधमा बोकेर एक बालक नजिकैको पिपलको रुख वरपर घुम्दै थिए । पिपलको रुखको फेदमा बसेका युवा युवतीको एक जोडि थियो । त्यही जोडीसँग आफुले बोकेको कटन क्यान्डी किन्न आग्रह गर्दै बसेका ९ वर्षीया बालक हुन नारद कुमार पासवान ।
मध्यान्न १२ बजेको चर्को घाममा पसिना पुच्छै ग्राहकसँग आग्रह गरेका पासवान आज मात्रै होइन हरेक दिन नदी किनारको चौरमा कटन क्यान्डी बाँधेको एउटा लौरी काँधमा बोकेर दिनभर चौर वारपार गर्ने गर्छन् । अझै भन्नुपर्दा यही लौरो र नदी किनार नै उनको दैनिकी हो । रौतहट जिल्ला घर भएका विगत ३ वर्षदेखि नारायणी किनार कटन क्यान्डी बिक्री गर्दै आएका प्यासमान आज पनि सधैँजसो त्यही काम गरिरहेका छन् ।
आज ५८ औँ राष्ट्रिय बाल दिवस हो । राष्ट्रिय बाल दिवसका ‘बालमैत्री समाजको आधारः जिम्मेवार परिवार, उत्तरदायी सरकार’ भन्ने नाराका साथ देशभरका विद्यालयहरु तथा विभिन्न संघ संस्थाले विभिन्न कार्यक्रम गरी उल्लासका साथ यो दिवस मनाइरहँदा उनी मजदुरी गरिरहेका छन् । तर यो दिवसबारे उनी कत्तिपनि जानकार छैनन् । यो दिवसबारे न त उनलाई केही पत्तो छ न त जान्न नै चाहन्छन् ।
भरतपुरको मुनालचोक बस्ने पासवान हरेक दिन आफ्नो डेरा वरपरका बालबालिका स्कुल हिँड्ने बेला उनी काँधमा लौरी बोकेर नारायणी किनारतर्फ लाग्छन् । स्कुल जाने उमेरमा उनी मासिक चार हजार रुपैयाँका लागि साहुको काम गरिरहेको उनी बताउँछन् । उनी भन्छन् ‘बिहान १० बजे नारायणी पुग्नुपर्छ बेलुका साढे सात बजे घर फर्किन्छु ।’ उनका अनुसार यही समय तालिका नै उनको दैनिकी बनेको छ ।
त्यस्तै मुनालचोकमै बस्ने ८ वर्षीय राजु गिरी पनि यही काम गर्दै दिन बिताउने गरेका छन् । कलिलो उमेरमा उनी पनि साहुको दासी बनेका छन् । दैनिक १० घण्टाभन्दा बढी काममा खटिएपछि मासिक जम्मा ५ हजार रुपैयाँ कमाउने उनी बताउँछन् ।
नेपालको अन्तरिम संविधान, २०६३ ले बालबालिकाको हक प्रत्याभूत गरेको छ । नागरिक अधिकार ऐन, २०१२ मा नाबालकलाई कारखाना आदिमा काम लगाउन निषेध गर्दै १४ वर्षभन्दा कम उमेरका कसैलाई पनि काममा लगाउन वा अन्य कुनै पनि जोखिमका काममा भर्ना गर्न नहुने भन्दै बालश्रमलाई निषेध गरिएको छ ।
नारायणी किनारमा भेटीएका यी दुई बालक मात्रै नभएर उनीहरुजस्तै अरु बालकहरुलाई पनि खुलेआम बाल मजदुरमा लगाइरहेका छन् । बालबालिकाको विद्यालय शिक्षामा सरल र सहज रुपमा पहुँच पर्याउनका लागि सरकारले बालबालिकालाई पठाउन पहल गर्दै विभिन्न कार्यक्रमहरु गरिरहेको छ । तर पनि कैयौँ बालबालिकाहरु यस्तै लापरबाहीका कारण शिक्षाबाट वञ्चित भइरहेका छन् । यस तर्फ न बाल अधिकारकर्मिको चासो देखिन्छ, न त अभिभावककै ।
प्रत्येक वर्ष गरिने बाल दिवशका कार्यक्रमहरु नारा र सिद्दान्तमा मात्रै सिमित देखिन्छन् । १८ वर्ष मुनिका मानव जातिलाई बालबालिका भन्दै विभिन्न अधिकार सुनिश्चित गरेको छ । वर्षेनी विभिन्न नारा दिँदै बाल दिवस मनाइए पनि बालबालिकाको अवस्थामा भने देखिने गरी सुधार आउन सकेको छैन । अझ भनौ सार्बजनिक ठाउँमा बालअधिकारका चर्को देखावटी बहस गर्नेहरु नै बालबालिका माथि दमन गन गरेका पनि समाजमा देख्न सकिन्छ ।