चितवन । नजिकिँदै गरेको दसैं, तिहार र छठपर्वमा जिल्लामा सुरक्षा व्यवस्था कडा गर्न चितवन प्रहरीले विशेष सुरक्षा योजना तयार पारेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले आज (मंगलबार) पत्रकार सम्मेलन गरी चार्डवाडका समयमा चोरी, डकैती, पाकेटमारी, लुटपाट, सवारी दुर्घटना, मादक पदार्थ सेवन गरी झै–झगडा तथा कुटपिटका घटना हुन सक्ने भन्दै यस्ता घटना हुन नदिन विशेष सुरक्षा योजना लागु गर्न लागेको बताएको हो ।
जिल्लामा शान्ति सुरक्षा कायम गरी भयरहित वातावरणमा चाडपर्व मनाउने वातावरण बनाउन स्थानीय तथा टोल सुधार समितिसँग समन्वय गरी घरदैलो कार्यक्रम गर्ने भएको छ ।
त्यस्तै स्थानीय तथा सर्वसाधारणलाई यस समयमा हुने घटनाबाट सचेत गराउन सञ्चार माध्यम, सामाजिक सञ्जाल र प्रचा पम्प्लेट तथा जिंगलको माध्ययमबाट प्रचार प्रसार गरिने जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख नवराज अधिकारीले बताए ।
चाडपर्वको समयमा सवारी साधनहरूमा हुन सक्ने लुटपाट नियन्त्रणको लागी लामो दुरीमा चल्ने सवारी साधनहरूमा जिल्लाको लोथर देखि खुरखुरे सम्म, खुरखुरे देखि तरकारी चोक सम्म, तरकारी चोक देखि टिकौली जंगल सम्म, टिकौली जंगल देख आँपटारी सम्म, आँपटारी देखि जुगेडी सम्म, जुगेडी देखि मुग्लिन सम्म, मुग्लिन देखि मौवा खोला सम्म सवारी साधन भित्रै प्रहरी परिचालन गरीने छ ।
जिल्ला प्रहरी कार्यालयले चाडपर्वमा १४६ जना प्रहरीलाई विभिन्न स्थानमा खटाउने भएको छ । जसमध्ये क्युआरटीमा २८ जना, हस्पिटल रेस्क्यु टिममा ४ जना ट्राफिक, कुकुर सहितको संयुक्त चेकिङमा सिमानाकाहरूमा चोरी तस्करी नियन्त्रणमा ४ जना, मोवाईल गस्ती (चार पाङ्ग्रे)मा ११ जना, पैदल गस्तीमा ८ जना, पिकेट डियुटीमा ३१ जना, राजमार्ग स्कर्टिङ तथा बेशमा ५ जना, यात्रु सहायता कक्ष ४ स्थानमा ४ जना, धार्मिक तथा पर्यटक स्थलको सुरक्षाका लागि ४ जना, बैंक तथा वित्तिय, सुनचाँदी कारोवार हुने स्थानको सुरक्षा ८ जना, बजार अनुगमनमा २ जना, सादा पोसाकमा ९ जना, कर्डन एण्ड सर्चमा १ जना, एम्बुसमा ४ जना, नियमित चेकप्वईन्ट डियुटी,मापसे चेकिङ सहित ४ जना, लामोदुरीको सवारी साधनमा विशेष चेकङमा ७ जना गरी खटाउने भएको छ ।
बैंक तथा वित्तीय संस्था एटिएम, आइएमइ, सुनचाँदी पसलमा प्रहरीको विशेष निगरानी रहने प्रहरीले जनाएको छ ।
त्यस्तै चितवन अवैध रुपमा मदिरा उत्पादन तथा विक्री वितरण हुन नदिन दैनिक रुपमा गस्ती पट्रोलिङ्को व्यवस्था मिलाईने बताउँदै मदिराको अवैध कारोबार भइरहेका स्थानहरूमा छापा मारी बरामद मदिराहरू सरोकारवाला निकायहरूको समन्वयमा नष्ट गरिने प्रहरीले बताएको छ ।