काठमाडौं । अब ५० शैयाभन्दा माथिका सबै सरकारी अस्पताबाट कोभिड–१९ विरुद्धको ‘भ्याक्सिन सर्टिफिकेट’ प्रदान गरिने भएको छ । स्वास्थ्य सेवा विभागले आइतबार सूचना जारी गर्दै देशभरका ५० शैयाभन्दा माथिका सबै सरकारी अस्पतालहरुलाई खोप कार्ड प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।
विभागले खोप कार्ड प्रमाणीकरणका लागि बढीमा २ जनासम्म फोकल पर्सन (मेडिकल डाक्टर) तोक्न निर्देशन दिएको हो । त्यस्तै आगामी भदौ १ गतेदेखि विदेश जाने नागरिकका लागि अग्रिम दर्ता गराएर मात्र खोप लगाउने र अन्य नागरिकको पनि सोही व्यवस्था मिलाउनसमेत विभागले निर्देशन दिएको छ ।
यसअघि काठमाडौंका चारवटा अस्पतालबाट मात्रै खोप लगाएको प्रमाणीकरण गरी भ्याक्सिन सर्टिफिकेट प्रदान गरिँदै आएकोमा अब देशभरका ५० शैयामाथिका सबै सरकारी अस्पतालबाट यो सेवा विस्तार गर्न लागिएको हो ।