चितवन । पढाउने कलादेखि मीठो गलासम्मका धनी थिए उनी अर्थात् सुमन आलेमगर । नाच्नेदेखि बाजा बजाउनेसम्मको पनि कला थियो उनमा । उनै सुमन आलेमगरले हामी सबैलाई छोडेर गएका छन् ।
लोक तथा दोहोरी गायक सुमन आलेमगरको अल्पायुमै भएको निधनले आज सामाजिक सञ्जाल पनि शोकाकुल बनेको छ। लामो समयदेखि मुटु र मिर्गौलाको समस्यासँग लडिरहेका आलेमगरको सोमबार राति पुरानो मेडिकल कलेजमा निधन भएको परिवारले जनाएका छन् ।
इच्छाकामना गाउँपालिका वडा नं ७ दाहाखानीमा जन्मिएका गायक मगरको निधनसँगै चितवनले एउटा होनाहार प्रतिभा गुमाएको छ ।
गायनका अलवा उनले २०७१ सालदेखि भरतपुर–१, ठिमुरास्थित राष्ट्रिय आधारभूत विद्यालयमा सहप्राध्यापकको भूमिका निभाएका थिए । करिब दशकअघिदेखि नै गायन क्षेत्रमा सक्रिय रहँदै आएका मगरले ‘रहरे मायालु’, ‘हे सानु माया’, ‘सलल बग्यो गण्डकी’, ‘रोधीको खालैमा’, ‘पिरतीको छाया’ ‘डाँडैको’, ‘लर्के वर’, ‘यानीमाया’लगायतका दर्जन बढी गीत गाएका थिए ।
उनको निधनप्रति प्रभात मावि शुक्रनगरका प्रअ होमनाथ भण्डारी सामाजिक सञ्जालमा लेख्छन्–
‘बहुआयामिक प्रतिभाका धनी प्रिय शिक्षक मित्र सुमन आलेप्रती भावपुर्ण श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु।’
यस्तै, नेकपा एमाले नेतृ पार्वती रावल लेख्छिन्–
मुटु र मृगौलासम्बन्धी स्वास्थ्य समस्याको कारण केही समय अगाडि देखि उपचाररत ठिमुरा आधारभुत विद्यालय भतरपुर ( १ मा कार्यरत सहायक प्रधानाध्यापक एवंम नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका सदस्य बहु प्रतिभाका धनी सुमन आलेमगर भाइको गए राती भएको देहावसानले स्त्तब्ध भएका छौ । सुमन भाइ प्रती हार्दिक श्रद्धाञ्जलि, शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना ।