चितवन । चितवन उद्योग संघको पहल र प्रस्तावमा नेपाल सरकारले सबैभन्दा ठूलो औद्योगिक क्षेत्रको रुपमा अगाडि बढाउन लागिरहेको शक्तिखोर औद्योगिक क्षेत्रको नेपाल सरकार, प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठको नेतृत्वमा रहेको टोलीले स्थलगत अवलोकन गरेको छ ।
कालिका नगरपालिकाको कार्यालयमा नगरपालिकाका जनप्रतिनिधिहरु, चितवन उद्योग संघ र सरोकारवाला निकायसँगको छलफल पश्चात टोलीले स्थलगत अवलोकन गरेको थियो । स्थलगत अवलोकनमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा।विश्वनाथ पौडेल, प्रधानमन्त्री कार्यालयका सचिव मधुकुमार मरासिनी, इन्फ्रास्ट्रक्चर बैंकका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडा, कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मी, चितवन उद्योग संघका पूर्व अध्यक्ष एवम् बागमती प्रदेश उद्योग परिसंघका अध्यक्ष भेषराज दुवाडी, चितवन उद्योग संघका उपाध्यक्ष गजेन्द्र अधिकारी, कार्यकारी निर्देशक गणेश प्रसाद सिलवाल, कालिका नगरपालिकाका वडाअध्यक्षहरु लगायतको उपस्थिति रहेको थियो ।
छलफलको क्रममा चितवन उद्योग संघका पूर्व अध्यक्ष एवम् बागमती प्रदेश उद्योग परिसंघका अध्यक्ष भेषराज दुवाडीले चितवन उद्योग संघले पहल गरी अगाडि बढाइएको शक्तिखोर औद्योगिक क्षेत्रका बारेमा जग्गा छुट्याउनेदेखि हालसम्म चितवन उद्योग संघले गरेका प्रयासहरुको बारेमा आफ्नो भनाई राख्नुभएको थियो । साथै उहाँले नेपाल सरकारबाट बिस्तृत परियोजना प्रस्ताव समेत अनुमोदन भईसकेको भएता पनि निर्माणले गति नलिदाँ धेरै उद्योगीहरु हतोत्साहित भएको उल्लेख गर्दै चरणवद्ध रुपमा कार्य गरी तत्काल उद्योग स्थापना गर्ने वातावरण तयार गर्नुपर्ने बताउनुभयो ।
त्यस्तै कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले शक्तिखोरमा औद्योगिक क्षेत्र निर्माण हुन लागेको आफू उत्साहित भएको बताउँदै नगरपालिकाको तर्फबाट सक्दो सहयोग गर्ने बताउनुभयो । त्यस्तै नेपाल सरकार, प्रधानमन्त्री कार्यालयका सचिव मधुकुमार मरासिनीले शक्तिखोर औद्योगिक क्षेत्रको निर्माण कार्यलाई अगाडि बढाउन नै आर्थिक वर्ष २०७९ र ०८० को नीति तथा कार्यक्रम र बजेटमा उक्त विषयले प्रवेश पाएको बताउनुभयो ।
त्यसैगरी राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्वनाथ पौडेलले नेपालकै मध्यभागमा भएकोले चितवनको शक्तिखोर नै सरकारको रोजाई भएको र यसलाई मोडलको रुपमा गरी औद्योगिक पार्कको रुपमा अगाडि बढाउनुपर्ने धारणा व्यक्त गर्नुभयो । त्यस्तै नेपाल सरकार, प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री माननीय उमेश श्रेष्ठ शक्तिखोर औद्योगिक क्षेत्र राज्यको प्राथमिकतामा परेकोले यसलाई फाष्ट ट्रयाकमा निर्माण कार्य अगाडि बढाउन सरकार प्रतिवद्ध रहेको बताउनुभयो । साथै, उहाँले भन्नुभयो– ठूलो लगानीको परियोजना भएकोले सरोकारवाला सबैलाई जिम्मेवार बनाउँदै नीजि, सरकारी साझेदारीमा निर्माण गर्ने मोडल तयार गर्नुपर्ने बताउनुभयो ।