चितवन । चितवन ३ बाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चुनाव लड्ने पक्कापक्की भैसकेको छ । गठबन्धन गरेर चुनाव लड्ने सहमति भएसँगै प्रचण्ड गठबन्धनका साझा उमेदवार बन्ने लगभग पक्का छ ।
प्रचण्डको निजि सचिवालयले समेत उनी चितवन ३ बाट चुनाव लड्ने जनाइसकेको छ । नेपाली कांग्रेसले भने प्रदेश तर्फको ‘क’ र ‘ख’ दुवै कांग्रेसले पाए प्रचण्डलाई सहयोग गर्ने नत्र चितवन कांग्रेस बाध्य नहुने बताउँदै आएको छ ।
नेपाली कांग्रेस चितवन ३ का क्षेत्रीय सभापति लालबहादुर दवाडीले आफनो क्षेत्रमा तीनै उमेदवार कांग्रेसको होस् भन्ने आफुले चाहेको बताए । त्यसकोलागि नेतृत्वलाई दबाब दिने काम भैरहेको उनको भनाइ छ ।
यता गठबन्धन भित्रको अर्को दल नेकपा समाजवादीले चितवन ३ मा दावी नगर्ने देखिन्छ । समाजवादीका नेता कार्यकर्ताहरुको चाहना चितवन १ मा प्रतिनिधि सभा र २ को ‘क’ मा प्रदेश तर्फ दावी गर्ने हो । चितवन १ को ‘क’ तर्फ पनि साजवादीले आफनो उमेदवार खडा गर्ने तयारी गर्दैछ ।
गठबन्धन तर्फ चुनावी सरगर्मी बढ्दा यता, नेकपा एमालेले चितवन ३ मा आफनो उमेदवार खोज्दै छ । एमाले भित्र रामबहादुर थापा, देवि ज्ञवाली, पार्वती रावललगायत प्रभावशाली नेताहरुको निर्वाचन क्षेत्रपर्छ यो । नेकपा एमालेका केन्द्रय तहका एक नेताले जनमत नभएकाले रामबहादुर थापाको उमेदवारी हुने सम्भावना एकदमै न्यून रहेको बताए । उनले पार्वती रावलको सम्भावना प्रवल रहेको बताए । यद्यपी एमाले भित्र राप्रपासँग चुनावी तालमेल गरेर चितवन ३ को दुवै प्रदेश एमालेले लिने र प्रतिनिधिमा राप्रपा उपाध्यक्ष विक्रम पाण्डेलाई साझा उमेदवार बनाउने चर्चा समेत चल्दै आएको छ ।
माडीको राम र राममन्दिरको मुद्दालाई एमालेले प्रमुख एजेण्डा बनाएर चुनावी अभियानमा लाग्ने छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राम र राममन्दिर भारतमै भएको बताउँदै आएका छन् । यही कारण र बादरमुढे घटनाले गर्दा माडीमा गठबन्धनलाई सहज छैन । एमालेलाई चितवन ३ मा प्रचण्डसँग पार्टी फुटको राजनीतिक प्रतिशोध छ ।
निर्वाचन आउन मात्र ९४ दिन छ । एमाले उमेदवार खोज्दै छ । गठबन्धन चुनावी तयारीमा जुट्दैछ ।