चितवन । गत असार महिनाको तेस्रो साता एक युवा आफू ठगिएको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनमा उजुरी दर्ता गरे । भरतपुर महानगरपालिका २९ का ३४ वर्षीय अनिल थापा (नाम परिवर्तन) लाई जापान पठाइदिन्छु भन्दै एक महिलाले ठगी गरिन् ।
बागलुङ जिल्ला गलकोटकी कमला भण्डारीले आफूलाई जापान पठाइदिन्छु भनेर डेढ वर्षअघि दुई लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएपछि पीडित थापा न्याय माग्न प्रशासनमा पुगेका हुन् ।
थापाले दुई वर्षअघि आफ्ना साथीभाइमाझ आफू विदेश जाने इच्छा सुनाएका थिए । सोही क्रममा साथीहरुको सुझावअनुसार उनी सामाजिक सञ्जाल (फेसबुक) मार्फत भण्डारीसँग संवाद गर्न थाले । त्यसलगत्तै दुवै जनाको साक्षात्कार पनि भयो । भण्डारीले जापानमा आफ्ना श्रीमानले होटल व्यवसाय गर्दै आएको र नेपाली युवाहरुलाई काम दिने गरेको बताइन् । ती महिलाले थापालाई पनि उक्त होटलमै काम लगाइदिने आश्वासन दिइन् । ठूलठूला सपना देखाएपछि थापाले पनि सोही होटलमा काम गर्न निर्णय गरे ।
भण्डारीले आफ्नै होटलमा काम दिने भन्दै उनीसँग पैसा लिएको थापा बताउँछन् । उनी भन्छन्, ‘जापान जाने भनेर शिक्षण पेसा पनि छोडेँ । व्यापार विजनेश थियो त्यो पनि छोडेर बसेँ । एजेन्टले काम हुन्छ, हुन्छ भन्दै आश्वासन दियो । अहिले सम्पर्कविहीन भएपछि प्रशासनमा उजुरी दिन आएको हुँ ।’
भण्डारीले मासिक डेढ लाख रुपैयाँ तलब पाउने आश्वासन दिएको थापा बताउँछन् । थापाले २०७७ साल माघ १८ गते एकपटक र २०७७ फागुन ५ गते एक पटक गरी एनआइसी एसिया बैंकमा भएको भण्डारीको बंैक खातामा दुई लाख रुपैयाँ नगद जम्मा गरिदिएका थिए । ‘रकम जम्मा गरे पनि जापान लैजाने कुनै प्रक्रिया अघि बढेन, अहिले फोन सम्पर्क पनि हुनसक्दैन’ थापाले भने ।
चितवनमा वर्सेनि ५० जना युवायुवती वैदेशिक रोजगारीको सिलसिलामा ठगिएका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । अधिकांश युवाहरु विदेश जाने बहानामै आफन्त, साथीभाइबाट ठगिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
जिल्लाको रत्ननगर नगरपालिका १३ निवासी ३२ वर्षीया लक्ष्मी नेपाली पनि थापा जसरी श्रीमान् विदेश पठाउनेक्रममा ठगिएकी छन् । श्रीमान विदेश जाने चक्करमा उनको १२ लाख रुपैयाँ दलालले खाइदियो । उनी ऋणमा परेकी छन् । गुहार माग्दै जिल्ला प्रशासन कार्यालय धाउने काम उनको नियति बनेको छ ।
लक्ष्मीले आफ्ना श्रीमान् ३७ वर्षीय गणेशबहादुर नेपालीलाई पोल्याण्ड पठाइदिने भन्दै सिन्धुपाल्चोक घर भई काठमाडौं बस्ने प्रेम तामाङलाई ५० हजार रुपैयाँ दिएको बताउँछिन् । उनी भन्छिन्, ‘तामाङले ६ महिनासम्म काम हुँदैछ पर्खिनूस् भने, ६ महिनापछि आफ्नो साथीले प्रक्रिया अघि बढाइरहेको भनेर अर्कोलाई जिम्मा लगाए ।’
लक्ष्मीका अनुसार श्रीमान गणेशबहादुरको पासपोर्टसहितका कागजात दलालले काठमाडौंको कीर्तिपुर घर भएका गोपाल भनिने (पीडित लक्ष्मीलाई थर थाहा नभएको) व्यक्तिलाई दिए । गोपालले पोल्याण्डको प्रक्रिया रद्द भएको भन्दै पुनः चेक रिपब्लिकमा राम्रो अफर आएको भन्दै सोही देश पठाउने भनेर किस्ता किस्तामा गरी १२ लाख रुपैयाँ नगद लिएको लक्ष्मी बताउँछिन् । उनी भन्छिन्, ‘गोपालले कहिले चेक रिपब्लिक लैजाने भनेर इन्डोनेसिया पुर्याएर नेपाल फिर्ता गरिदिए । विदेश जाने भनेर ऋण लिइयो । अहिले ऋण तिर्न नसकेर घर जग्गा मासियो । अहिले दलाल सम्पर्कमा पनि छैनन् ।’ ऋणको भार थामिनसक्नु भएपछि गोपालसँग पासपोर्ट मागेर श्रीमान साउदी पुगेको उनी बताउँछिन् ।
थापा र नेपालीजस्तै चितवनका थुप्रै युवायुवती वैदेशिक रोजगारको सिलसिलामा वर्सेनि ठगिएका छन् । चितवनमा वर्सेनि ५० जना युवायुवती वैदेशिक रोजगारीको सिलसिलामा ठगिएका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । अधिकांश युवाहरु विदेश जाने बहानामै आफन्त, साथीभाइबाट ठगिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
गत वर्ष चितवनका ८१ जना युवाहरु ठगीमा परेको भन्दै मानव अधिकारका लागि जनमञ्च (पिपुल फोरम) मा उजुरी लिएर पुगेका थिए । गत वर्ष जिल्लाका ७१ जना पुरुष र १० जना महिलाले पिपुल फोरममा उजुरी गरेको अधिवक्ता तथा पिपुल फोरमका संस्थापक सोम लुइँटेलले बताए ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक नरहरि अधिकारीले गत वर्ष २०७८÷०७९ मा ५३ जना युवाहरुले वैदेशिक रोजगारीमा ठगिएको भन्दै उजुरी दर्ता गरेका बताए । प्रवक्ता अधिकारीका अनुसार दलालले चितवनका धेरै युवालाइ माल्ट्रा, क्यानडा, कम्बोडिया, हंगेरी, जापान, दुबइ, साउदी अरब पठाउने नाममा ठगी गरेका छन् ।
हतारिएर विदेश जान खोज्दा, छिटो अरुलाई विश्वास गर्दा, प्रक्रिया केही नहेरी रकम बुझाउँदा अधिकांश युवा ठगीमा परेका उनी बताउँछन् । त्यस्तै गत वर्ष चितवनका ८१ जना युवाहरु ठगीमा परेको भन्दै मानव अधिकारका लागि जनमञ्च (पिपुल फोरम) मा उजुरी लिएर पुगेका थिए । गत वर्ष जिल्लाका ७१ जना पुरुष र १० जना महिलाले पिपुल फोरममा उजुरी गरेको अधिवक्ता तथा पिपुल फोरमका संस्थापक सोम लुइँटेलले बताए । व्यक्तिगत मुद्दाहरु पहिला प्रशासन कार्यालयमा जाने हुँदा कतिपय अवस्थामा केशहरु मिलापत्र हुने भन्दै जटिल मुद्दाहरु मात्रै पिपुल फोरममा पुग्ने उनले बताए ।
धेरैजसो पीडितहरु आफन्त तथा नजिकका साथीमार्फत ठगिने गरेको पाइएको अधिवक्ता लुइँटेल बताउँछन् । अवैध रुपमा सञ्चालनमा आएका म्यानपावर कम्पनी र एजेन्टले विदेश पठाइदिन्छु भन्दै दक्ष नभएका व्यक्तिहरुलाई पनि गलत प्रक्रियाबाट पठाउने समस्या यथावत उनको भनाइ छ ।
वैदेशिक रोजगारीलाई व्यवस्थित र मर्यादित बनाउनका लागि राज्यले ध्यान दिनुपर्ने भन्दै अधिवक्ता लुइँटेलले स्थानीय सरकारले आ–आफ्ना क्षेत्रबाट वैदेशिक रोजगारको लागि जनचेतना जगाउनुपर्ने बताए ।