चितवन । कृषिलाई पर्यटनमा जोड्ने उद्देश्यसहित माडीमा फार्म स्टे सञ्चालनको तयारी गरिएको छ ।
स्थानीय पिछडिएका समुदायलाई लक्षित गर्दै उनीहरुलाई आयआर्जनमा जोड्न सहयोग पुगोस् भन्ने हेतुले पनि माडीमा फार्म स्टे सञ्चालनमा ल्याउन लागिएको हो ।
चक्लाबन्दीमा आधारित सामूहिक खेती गरिदैं आएको माडी नगरपालिका वडा नम्बर ८ कान्तिपुरमा सूर्योदय कृषि सहकारी संस्था मार्फत खेती गरिएको सो ठाउँमा फार्मस्टे घरहरु सञ्चालनमा ल्याउन लागिएको हो ।
संस्थाले कुल १०० घरमा फार्मस्टे घरहरु बनाउने लक्ष्य लिएपनि हाल ४६ ओटा घर परिवारलाई पक्की घर बनाएर त्यही फार्मस्टे सञ्चालन गर्न लागिएको छ ।
प्रदेश सरकारको रू. तीन लाख, माडी नगरपालिकाको डेढ लाख र स्थानीय जनताको चार लाख ५० हजार गरी रू नौ लाखको लागतमा घरहरु बनेका हुन् । दुईओटा बेड रूम, एक लिभिङ रूम, एक किचन र दुईओटा एट्याच्ड ट्वाइलेट बाथरूम छन् ।
कृषि सहकारी संस्थाका प्रबन्धक शिवजी गायकले ४६ ओटा फार्म स्टे घरहरु तयार भएर हस्तान्तरण गरिसकिएको र दशैंबाट सञ्चालनमा ल्याइने जानकारी दिए । हाल सञ्चालनमा ल्याउन सकिएपनि कोभिडका कारण केही समय पछि सञ्चालनमा ल्याइने उनको भनाइ छ ।
१०० विघा क्षेत्रफल रहेको त्यो स्थानमा खेतीको बीचबीचमा घर बनाइएको छ । माडीलाई कृषि पर्यटनको नमूना नगरपालिका बनाउनको लागि फार्मस्टे सञ्चालनमा ल्याउन लागिएको उनले बताए । ‘यहाँ २० ओटा माछा पोखरी, पशुपालन फार्म, लोकल कुखुरा फार्म रहनुका साथै अर्गानिक कृषि उपज उत्पादन गरिनेछ । रिसोर्टहरुमा होटल, पार्क, स्वीमीङ पुल इत्यादि हुन्छन, गायकले भने, फार्म स्टेमा पाहुन आउँछन् फार्मस्टेमा बस्छन कृषि कर्म हेर्छन् ।’
माडीमा ‘फार्मस्टे’ घरहरु कान्तिपुर गाउँको मूलबाटोनजिकै होमस्टेसमेत सञ्चालन गर्न मिल्ने गरी घरहरु बनाइएको छ । विशेष गरी पिछडिएको समुदायको लागि आयस्तर उकास्न र आत्मनिर्भर बनाउन यो योजना अघि सारिएको हो ।
स्थानीय डिलबहादुर गन्धर्वले यी घरमा होमस्टे सञ्चालन गरेपछि आफ्नो संस्कृतिको संरक्षण पनि हुने र आय आर्जनसमेत गर्न सकिने बताए । जसअनुसार फार्म स्टेमा विभिन्न समुदायका संस्कृति झल्कने गीत, संगीत तथा नाचगान गरी पर्यटकलाई मनोरञ्जन प्रदान गरिनेछ ।
यसअघि आ–आफ्ना जमिनमा परम्परा र निर्वाहमुखी खेती गर्दा घाटा ब्यहोर्दै आएको भन्दै गन्धर्वले फार्मस्टे सञ्चालनमा आएपछि आफूहरु दिगो आर्थिक उपार्जन गर्न सकिने आशा रहेको बताए ।
वाग्मती प्रदेश सरकारले गन्धर्व समुदायका लागि एकीकृत नमूना बस्ती निर्माण गरेको छ । साथै उनीहरुको संस्कृति र भेषभूषाको संरक्षणका लागि गन्धर्व संग्रहालय तथा सांस्कृतिक केन्द्रसमेत निर्माण गरिएको छ । रू. ५० लाखको लागतमा गन्धर्व संग्रहालय भवन निर्माण गरेको हो । सो भवनमा २५० जना अट्ने क्षमता छ ।
गन्धर्व संग्रहालय तथा सांस्कृतिक केन्द्रमा गन्धर्व समुदायको भेषभूषा, बाजागाजा, कृषि उपजहरुको प्रदर्शनी तथा विक्री केन्द्र स्थापना गरिने सहकारीका प्रबन्धक गायकले बताए । सामूहिक खेती गरिएको ठाउँमा कृषि क्षेत्रलाई पर्यटनसँग जोड्दै विविध पक्षको अध्ययन गर्ने केन्द्रको रुपमा विकास गर्नको लागि सो गाउँमा विभिन्न संरचनाहरु निर्माण भएको प्रबन्धक गायकले जानकारी दिए ।
संस्थाले त्यहाँका ८६ घर परिवारको जग्गा एकीकृत गरी सामूहिक खेती गरेको छ । सामूहिक खेतीका लागि १०० बिगाहा जमिन एकीकृत गरिएको छ । यहाँ तीन कट्ठादेखि चार बिगाहसम्म जमिन भएकाहरु अहिले एउटै संस्थामा आवद्ध भएका छन् । सूर्योदय कृषि सहकारी संस्थामार्फत् किसानको जमिनलाई चक्लाबन्दी गरिएको हो । कान्तिपुर क्षेत्रको करीब १०० बिगाह खेतीयोग्य जमिनलाई चक्लाबन्दी गर्ने लक्ष्य राखिएकोमा ७० बिगाहभन्दा बढी जमिनलाई एउटै प्लटमा रुपान्तरण गरिएको छ ।
क्रमश यस क्षेत्रमा ड्रयागन फ्रुट, सूर्यमुखी, तोरीलगायतको खेतीमार्फत् पर्यटकलाई आकर्षण गराउने लक्ष्य राखिएको छ । एकै ठाउँबाट सबै खेतीको अवलोकन गर्न मिल्ने गरी भ्यू टावर निर्माण गर्ने तयारी पनि सहकारीको छ ।
सहकारीका अध्यक्ष इन्द्रबहादुर पौडेलले कृषि पर्यटनका लागि माडीमा फार्मस्टे उपयोगी र प्रभावकारी हुँदै गएको बताए । चितवनको दुर्गम क्षेत्रको रुपमा माडी लाई चिनिएपनि नजिकै रहेको राष्ट्रिय निकुञ्ज र उर्बर भूमि भएका कारण कृषि पर्यटनको आकर्षक गन्तव्य हुने पौडेलको भनाइ छ । आगामी दिनमा संस्थाले थप पर्यटन प्रवर्द्धनका कामहरु अघि बढाउंँदै लगिने उनले जानकारी दिए ।