चितवन । भरतपुर महानगरपालिका–१९ मा रहेको शारदानगर कोभिड अस्पताललाई कारितास नेपाल क्षेत्रीय कार्यालय गैँडाकोटले तीन लाख बढीको स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
कारितास नेपालले स्वास्थ्य संंस्थालाई कोभिड–१९ आपतकालिन राहत सहयोग परियोजनाअन्र्तग सो सहयोग गरेको हो ।
तीन लाख २२ हजार ५४३ रुपैयाँ बराबरका स्वास्थ्य सामग्री आज कोभिड अस्पताललाई प्रदान गरिएको छ ।
अक्सिजन कन्सन्ट्रेटर दुई थान, पल्स अक्सिमिटर चार थान, सर्जिकल मास्क १४२ पोका र स्यानेटाइजर ४२ थान सामग्री सहयोग हस्तान्तरण गरिएको छ । सो सामग्री सहयोग हस्तान्तरण कार्यक्रममा संंविधानसभा सदस्य विण्णुमाया परियारले कारितास नेपालको सहयोगले अस्पताल प्रति कोरोना बिरामीको आर्कषण बढ्ने बताइन् । उनले अझै पनि ग्रामीण क्षेत्रमा कोरोना परीक्षण गराउन आनकानी भइरहेको भन्दै लक्षण देखिएमा कोरोना परीक्षण गराउन समेत आग्रह गरिन् ।
कारितास नेपालका क्षेत्रीय प्रमुख शंकरकुमार पौडेलको अध्यक्षतामा भएको स्वास्थ्य सामग्री हस्तानन्तरण कार्यक्रममा भरतपुर महानगरपालिका वडा नं. १९का वडा अध्यक्ष एवम् शारदानगर कोभिड अस्पतालका अध्यक्ष कर्णबहादुर गुरुङले विशेषगरेर सहयोग कसैले धेरै, थोरै भन्नुभन्दा पनि सहयोग कसरी गर्न सकिन्छ, कसरी गरियो भन्ने विषयले मान्यता राख्ने बताए । कोभिड अस्पताललाई सामाजिक संस्थालगायतको सहयोग सुरुवातबाट भएको बताउँदै ,गाउँमा रहेको अस्पतालमा सबैको नजर पुग्न नसकेको भनाइ राखे । सो कार्यक्रममा शारदानगर कोभिड अस्पतालका प्रमुख डाक्टर सुरेशराज शर्मा अस्पतालमा कोभिड एन्टिजेन परीक्षण सोमबार , बुधबार , शुक्रबार भइरहेको बताउँदै कोभिडको शंका लागेका र कोभिडका बिरामीहरुलाई परामर्श दिइरहेको बताए । यस अस्पतालमा चार जना चिकित्सकसहित, अन्य स्वास्थ्यकर्मीले सेवा दिइरहेका छन् । शारदानगर हेल्थपोष्टका जनस्वास्थ्य निरीक्षक एवम् इन्चार्ज बद्री प्रसाद खकुरेलले कोभिड अस्पताललाई सहयोग जुटेको खुसी व्यक्त गरे ।
शारदानगर हेल्थपोष्ट परिसरमा नै कोभिड अस्पताल नै सञ्चालन गरिएको छ । सो कार्यक्रममा कारितास नेपालका क्षेत्रीय कार्यक्रम संयोजक, प्रतिक्षा श्रेष्ठ, कारितास नेपालका ऋषिकान्त वस्ताकोटीलगायतले बोलेका थिए । कारितास नेपाल क्षेत्रीय कार्यालय गैँडाकोटले शनिबार पश्चिम चितवनको शिवनगर कोभिड अस्पताललाई ६ लाख बढीको स्वास्थ्य सामग्री सहयोग गरेको थियो । संस्थाले कोभिड अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर चार थान, पल्स अक्सिमिटर चार थान, सर्जिकल मास्क १४३ पोका र स्यानीटाइजर ४३ थान सहयोग गरेको हो । यी स्वास्थ्य सामग्रीको मूल्य छ लाख १२ हजार ८८३ रुपैयाँ बराबरको रहेको कारितास नेपालले जनाएको छ ।