चितवन । भरतपुर विमानस्थलमा कार्यरत बज्र सेक्युरिटीजद्वारा परिचालित कर्मचारी सरुवा प्रकरणको विवाद एक महिनापछि फेरि बल्झेको छ ।
भरतपुर विमानस्थलका दुई कर्मचारीको सरुवाको विषयलाई लिएर एक महिनाअघि विवाद भएको थियो । गत महिना कर्मचारी सरुवाको विषयमा भएको विवाद साम्य भएको एक महिना नपुग्दै फेरि विवादले उग्ररुप लिएको हो । अखिल नेपाल ट्रेड युनियन महासंघले विमानस्थल प्रमुख प्रवेश अलाम सिद्धिकीले पुनः विवाद बल्झाएको आरोप लगाइएको छ ।
विमानस्थलमा बज्र सेक्युरिटीज मार्फत परिचालित दुई सामान्य कर्मचारी सीता देवकोटा र सरिता लामिछानेलाई भरतपुरबाट भैरहवा विमानस्थलमा सरुवा गर्ने विषयमा विमानस्थलमा चर्को विवाद भएको थियो । विमानस्थल प्रमुख, अखिल नेपाल ट्रेड युनियन महासंघ र कर्मचारी बिच बसेको बैठकले देवकोटा र लामिछानेलाई भरतपुरमै काम लगाउने निर्णय गरेको थियो । उक्त विवाद सुल्झिएको एक महिनापछि विमानस्थल प्रमुखले पुनः कर्मचारीलाई निष्कासन गरेको अखिल नेपाल ट्रेड युनियन महासंघले जनाएको छ ।
महासंघले आज (बुधबार) प्रेस विज्ञप्ति जारी गर्दै कर्मचारी पुनर्बहाली गर्ने सहमति भएको एक महिनासम्म काम लगाई हाजिर नगरी साउन ९ गते गेटपास खोसी प्रहरी प्रशासन लगाएर बाहिर निकालिएको बताएको छ । गत असार तीन गते सोही विवादको विषयलाई लिएर नागरिक उड्डयन प्राधिकरणको टोलीसहित भरतपुर विमानस्थल प्रमुख र मजदुर युनियनका प्रतिनिधिबिच भएको छलफलमा प्राधिकरणका महानिर्देशक समक्ष सरुवा बदर गर्ने सहमति भएको थियो ।
महासंघले आज (बुधबार) प्रेस विज्ञप्ति जारी गर्दै कर्मचारी पुनर्बहाली गर्ने सहमति भएको एक महिनासम्म काम लगाई हाजिर नगरी साउन ९ गते गेटपास खोसी प्रहरी प्रशासन लगाएर बाहिर निकालिएको बताएको छ ।
उक्त सहमतिपत्र हालसम्म नागरिक उड्डयन प्राधिकरणमा सिफारिस नभएको पाइएको छ । प्राधिकरणका प्रवक्ता जगन्नाथ पौडेलका अनुसार भरतपुर विमानस्थलमा सरसफाई गर्ने कर्मचारी पुनर्बहाली नगरिएको र सरुवा बदरसम्बन्धी पनि कुनै जानकारी नभएको बताए ।
उनले भने, ‘एजेन्सीमार्फत परिचालित भएका कर्मचारी भैरहवा विमानस्थलमा स्थानान्तरण गरिएको हो, उनीहरुलाई कामबाट हटाइएको होइन । कार्यालयको नियमअनुसार कर्मचारी चल्नुपर्छ । सरुवा हुँदैनौँ भन्न मिल्दैन । भरतपुर विमानस्थलबाट सरुवा बदर भएको सहमतिबारे केही जानकारी आएको छैन ।’
यता, विमानस्थल प्रमुख सिद्धिकीले भने प्राधिकरणको टोलीले कर्मचारी सरुवा बदर गर्ने निष्कर्ष निकाली महानिर्देशक समक्ष पठाइएको बताए । कर्मचारीहरुलाई केही समय घरमै बस्ने र प्राधिकरणको निर्णयपछि काममा लगाइने भनिए पनि उनीहरु त्यसलगत्तै कार्यालय धाउन थालेको बताए । उनी भन्छन्, ‘बज्र सेक्युरिटीको मान्छेलाई भरतपुर नागरिक उड्ययन कार्यालयले काममा लगाउन सक्दैन । यो नेपाल सरकारको अफिस हो । उनीहरु एजेन्सीबाट खटिएका कर्मचारी थिए । उनीहरुलाई हामीले काम लगाएका छैनौँ र हाँजिर पनि लगाइएको छैन ।’
यसै विषयमा बज्र सेक्युरिटीज कम्पनीका सिइओ उद्धव चौलागाईले भरतपुर विमानस्थलमा कर्मचारी पुनबहाली गरिएको पत्र नआएको बताए । उनले भने, ‘नागरिक उड्डयन प्राधिकरणको सल्लाह बमोजिम उनीहरुलाई भैरहवा सारिएको हो । हामीले प्राधिकरणले मागेअनुसार विमानस्थललाई कर्मचारी दिने हो । भरतपुरमा उहाँहरुको कामको नतिजा राम्रो नभएका कारण थप काम सिकाउन भैरहवा सरुवा गरिएको हो । तर, सरुवा बदर गरियो भनेर हामीकहाँ त्यस्तो केही पनि जानकारी आएको छैन् ।’