चितवन। चितवनको खानेपानी २० प्रतिशत दुषित भएको पाइएको छ। संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना चितवनले गरेको परिक्षणमा एक महिनामा २० प्रतिशत पानी दुषित भेटिएको जनाएको हो।
जिल्लाका सात पालिकाका विभिन्न ठाउँमा कार्यालयले पानीको परिक्षण गर्दा केही ठाउँमा किटाणुजन्य दुषित पानी भेटिएको भन्दै पानीजन्य रोगको जोखिम भएको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना चितवनका खानेपानी सेमिस्ट योगेन्द्र देवले बताए। पानीको बोरिङ्ग/ मुहान वरिपरि फोहोर, मानिस, वन्यजन्तु तथा पशुपंक्षीको दिशा पिसाबका परिक्षण गरिएको २० प्रतिशत खानेपानी दिसाजन्य किटाणु (फेइकल कोलिफर्म–इकोली) भेटिएको उनले बताए। उनी भन्छन्, ‘अहिले बर्खाको समयमा मुहान वरपर बाहिरको पानीले फोहोर बगाएर ल्याउने हुँदा त्यो फोहोरबाट खानेपानीमा किटाणु पस्न सक्ने र बोरिङ्ग/ मुहान वरिपरि सरसफाई नगर्दा पानी दुषित भेटिएको हो। बेलाबेलामा शुद्द पानी आइरहेको ठाउँबाट पनि दुषित पानी आउन सक्छ।’
संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना चितवनमा व्यतिगत तथा संस्थागत रुपमा खानेपानी परिक्षणकालागि नमुना ल्याउने गरेका छन्। नमुना परिक्षण गर्दा शत प्रतिशत पानी शुद्द नभएको देव बताउँछन्।
जिल्लामा दुषित खानेपानीका कारण रोग लाग्न नदिन खानेपानी कर्मचारी तथा जिल्लाका आधारभूत स्वास्थ्यकर्मीलाई पानी शुद्दिकरणको तालिम दिइने गरिएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख रामकुमार केसीले बताए। खानेपानीमा प्युस कसरि राख्ने ? बोरिङ्ग सरसफाई र व्यवस्थापनका लागि समितिसँग छलफल गर्ने विषयमा सचेत गराइएको भन्दै दूषित पानीका कारण हैजा, झाडापखाला हुनसक्ने भन्दै पानी शुद्दिकरण गरेर मात्र पिउन उनले आग्रह गरे।
चितवनमा यसअघि पानीको शुद्दिकरण मापनको काम जनस्वास्थ्य कार्यालयले गर्ने गरेको थियो। पछिल्लो २/३ वर्षयता खानेपानीको शुद्दिकरणको मापन संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले गर्दै आएको स्वास्थ्य कार्यालयका प्रमुख केसीले बताए।