चितवन । चितवनमा ३३ हजार भन्दा बढी सवारी साधन कारबाहीमा पर्दा सबैभन्दा बढी मोटरसाइकल परेका छन् । आर्थिक वर्ष २०७८ र ७९ मा ३३ हजार ७२८ सवारी साधन कारबाहीमा परेका हुन् । करबाहीमा परेका सवारी साधनहरु मध्ये सबै भन्दा बढी मोटरसाइकल रहेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको तथ्याङ्क अनुसार सो अवधिमा ९ हजार २५१ वटा मोटरसाइकल कारबाहीमा परेका छन् ।
यस्तै छ हजार २३८ वटा ट्रक र टिपर, चार हजार ५७ वटा बस तथा माइक्रो, सात हजार ७२२ जिप तथा कार, एक हजार ५७२ वटा ट्याक्टर र चार हजार ८८८ वता टेम्पो तथा अन्य सवारी साधन कारबाहीमा परेको ट्राफिक कार्यालयले जानकारी दिएको छ । सो अवधिमा कारबाहीमा परेका सवारी साधनबाट तीन करोड ८५ लाख ४५ हजार रुपैयाँ राजस्व संकलन भएको छ । जस मध्ये कारबाहीमा परेका ९ हजार २५१ मोटरसाइकलबाट ७८ लाख ५४ हजार ५०० रुपैयाँ राजस्व संकलन भएको तथ्याङ्कमा उल्लेख छ ।
यस्तै ट्रकरटिपरबाट ६८ लाख २४ हजार, बस तथा माइक्रोबाट ३७ लाख ८५ हजार, जिप तथा कारबाट ७० लाख ९४ हजार ५००, ट्याक्टरबाट १५ लाख ६८ हजार ५००, र टेम्पो तथा अन्य सवारी साधनबाट ३७ लाख २८ हजार राजस्व संकलन भएको छ ।
सवारी कारबाहीबाट राजस्व कति संकलन ?
गत आर्थिक वर्षको पहिलो महिना साउनमा २५ लाख ७३ हजार ५०० राजस्व संकलन भएको थियो भने भदौमा २३ लाख ७८ हजार, असोजमा २७ लाख २६ हजार, कार्तिकमा ३० लाख १६ हजार ५००, मंसिरमा २२ लाख ४४ हजार ५०० र पुषमा २६ लाख ४१ हजार राजस्व संकलन भएको ट्राफिक कार्यालयले जानकारी दिएको छ ।
यस्तै माघमा २२ लाख ४८ हजार ५००, फागुनमा २१ लाख ८७ हजार, चैतमा २३ लाख नौं हजार ५००, बैशाखमा २३ लाख ३९ हजार ५००, जेठमा ३० लाख ५०० र असारमा ३१ लाख ९० हजार रुपैयाँ राजस्व संकलन भएको छ ।