चितवन । जिल्लामा सम्बन्ध विच्छेद गर्नेको संख्या अत्याधिक वृद्धि भएको छ । जिल्ला अदालत चितवनमा दर्ता भएका मुद्दामध्ये दुई गुणा बढी मुद्दा सम्बन्ध विच्छेदकै रहेका छन् ।
जिल्ला अदालत चितवनको एक तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०७८/०७९ को असार १७ गतेसम्ममा जिल्लामा कुल तीन हजार ३ सय ५२ मुद्दा दर्ता भएका थिए । जसमध्ये सबैभन्दा बढी ३८ प्रतिशत सम्बन्ध विच्छेदका रहेका छन् । अदालतको तथ्यांक अनुसार यस वर्ष एक हजार २ सय ५३ जनाले सम्बन्ध विच्छेद (देवानी तर्फ)का मुद्दा दर्ता गराएका छन् । सम्बन्ध विच्छेदका कुल मुद्दा मध्ये ४९.६६ प्रतिशत मुद्दा फछर्यौट भएका छन् ।
वर्षेनी बढ्दो सम्बन्ध विच्छेदका घटनाले गम्भीर रुप लिन सक्ने भन्दै जिल्ला अदालतका न्यायाधीशहरुले चिन्ता व्यक्त गरेका छन् । जिल्ला न्यायाधीश केशवप्रसाद अधिकारीका अनुसार चितवनमा सम्बन्ध विच्छेदका मुद्दा दर्ता गराउन आउने पुरुष भन्दा बढी महिला रहेका छन् । पछिल्लो समय महिलाहरु पितृसत्तात्मक सोचबाट माथि उठ्दै आफुमाथि हुने घरेलु हिंसा सहन नसकेको भन्दै सम्बन्ध विच्छेद गराउन आउने गरेको बताउँछन् ।
विस २०७६ सालमा नयाँ मुलुकी संहिता लागू भएसँगै पुरुषले पनि सम्बन्ध विच्छेदको मुद्दा हाल्न पाउने कानुनी व्यवस्था छ । नयाँ कानुनी व्यवस्थापछि पुरुषले पनि सम्बन्ध विच्छेदको मुद्दा हाल्न थालेका छन् । जिल्ला न्यायाधीश केशवप्रसाद अधिकारीका अनुसार सम्बन्ध विच्छेदका मुद्दा दर्ता गराउने पुरुषको संख्या बढीमा १५ प्रतिशत रहेका छन् ।
नेपालमा पश्चिमी कल्चरको देखासिकी बढ्दै गएको जिल्ला न्यायाधीश गायत्रीप्रसाद रेग्मी बताउँछन् । उनी भन्छन् ‘सम्बन्ध विच्छेदमा वास्तविकता देखिँदैन । सामान्यतया श्रीमानले खाना, लगाउने लुगाफाटा नदिने, परिवार र बालबच्चा नहेर्ने, मदिरा सेवन, कुटपिट गर्ने जस्ता एउटै ढाँचामा निवेदन दिने गर्छन् तर, वास्तविक पीडामा परेर सम्बन्ध विच्छेद गराउन आउने भने कम नै देखिन्छन् । यसो हुनु पश्चिमी कल्चरको असर पनि देखिन्छ ।’
पछिल्ला केही वर्ष यता पुरुषहरु वैदेशिक रोजगारमा जाने, युवा युवतीहरु पढाइकै शिलशिलामा विदेश जाँदा नक्कली विवाह गर्ने र सानै उमेरमा विवाह गर्ने र अपरिपक्वताका कारण वैवाहिक दम्पत्तिमा आउने साना–साना खटपटले गर्दा पनि सम्बन्ध तोड्नेको संख्या बढेको उनी बताउँछन् ।
नेपालमा पश्चिमी कल्चरको देखासिकी बढ्दै गएको जिल्ला न्यायाधीश गायत्रीप्रसाद रेग्मी बताउँछन् । उनी भन्छन् ‘सम्बन्ध विच्छेदमा वास्तविकता देखिँदैन । सामान्यतया श्रीमानले खाना, लगाउने लुगाफाटा नदिने, परिवार र बालबच्चा नहेर्ने, मदिरा सेवन, कुटपिट गर्ने जस्ता एउटै ढाँचामा निवेदन दिने गर्छन् तर, वास्तविक पीडामा परेर सम्बन्ध विच्छेद गराउन आउने भने कम नै देखिन्छन् । यसो हुनु पश्चिमी कल्चरको असर पनि देखिन्छ ।’
सम्बन्ध विच्छेदका मुद्दामा वकिलहरुले वास्तविकता बुझेर मात्रै निवेदन लेखिदिन उनले आग्रह समेत गरे। सम्बन्ध विच्छेदका घटना यसरी बढ्दै जाँदा एक किसिमको विकृति बढ्ने बताउँदै वकिलहरुले लेखिने निवेदनको ढाँचामा वास्तविकता खुलाउने कुरामा गम्भीर हुनुपर्ने उनले बताए ।
बाबु आमाको सम्बन्ध विच्छेदको प्रत्यक्ष असर बालबालिकामा पर्ने बताउँदै राज्यको सामाजिक सुरक्षा नीति राम्रो हुन जरुरी रहेको न्यायाधीश रेग्मीको भनाई छ । बाबु आमाले सम्बन्ध विच्छेद पछि एक अर्काको साहरा खोज्न पुनः अर्को विवाह गर्दा कतिपय बालबालिकाको भविष्यमा नराम्रो धक्का पुगेको भन्दै राज्यले त्यसतर्फ ध्यान दिनुपर्ने उनले बताए ।