काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दैछ।
माओवादी केन्द्र केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालका अनुसार केन्द्रीय समिति बैठक आइतबार बिहान ११ बजे प्रज्ञा भवन कमलादीमा बस्ने गरी बोलाइएको छ ।
बैठकमा गत वैशाख ३० मा भएको स्थानीय चुनावको समीक्षा, केन्द्रीय समितिको पूर्णता, पदाधिकारी चयन, पोलिटब्युरो र स्थायी समितिको चयन र कार्यविभाजन, आगामी चुनावको तयारीलगायतका विविध विषयमा छलफल हुने जनाइएको छ। बैठक तीन दिनसम्म चल्ने छ ।
यसअघि महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सर्वसम्मत रूपमा अध्यक्षमा निरन्तरता दिने निर्णय गरेको थियो । तर, हालसम्म अध्यक्षबाहेकका अन्य पदाधिकारी चयन हुन सकेका छैनन्। माओवादीकाे महासचिवमा दुई आकांक्षी छन्। नेता वर्षमान पुन र अर्का आकांक्षी हालका अर्थमन्त्री जर्नादन शर्माबीच तीब्र प्रतिस्पर्धा रहेकाले हालसम्म महासचिवमा कुरा नमिल्दा अन्य पदाधिकारी चयन गर्न नसकिएको हो।
आठौं महाधिवेशनले पारित गरेको विधानमा पदाधिकारीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष रहने व्यवस्था गरेको छ । त्यस्तै, केन्द्रीय सदस्यको संख्या २९९ रहने र त्यसमा थप १५ प्रतिशत सदस्य मनोनयन गर्ने व्यवस्था छ। थप २५ प्रतिशत वैकल्पिक केन्द्रीय सदस्य रहने पनि व्यवस्था गरिएकाे छ।