काठमाडौं । मन्त्री हेरफेर गर्ने निर्णयले पार्टीमा खटपट बढिरहेको बेला नेकपा एकीकृत समाजवादीका १० सांसदले अध्यक्ष माधवकुमार नेपालसमक्ष संसदीय दलको बैठक बोलाउन माग गरेका छन् ।
अध्यक्ष नेपाललाई ध्यानाकर्षण पत्र बुझाउँदै उनीहरुले बजेट अधिवेशन चलिरहेको समयमा एक्कासी मन्त्री फेर्ने निर्णय अस्वाभाविक भएको भन्दै मन्त्रीमण्डल पुनर्गठन गर्ने कुरा नसकिने बताएका छन् ।
सरकारमा रहेका मन्त्रीसहित १० जना सांसदहरुले बुझाएको पत्रमा आफूहरुलाई पटक–पटक अपराधीलाई जस्तो व्यवहार गरिएको भन्दै असन्तुष्टि पनि जनाएका छन् ।
‘पूर्व जानकारी पाउँदा स्वाभाविक प्रक्रियाबाट मन्त्री पदबाट राजीनामा गरेर आउछौं भनेर नेतृत्वलाई मन्त्रीहरुले दिएको विश्वासमा ठेस पुर्याउने र पटक पटक अपराधीलाई जस्तो व्यवहार गरियो, यस्तो व्यवहार कदापि ठिक मान्न सकिँदैन।’ पत्रमा उल्लेख छ ।
पत्र बुझाउनेमा स्वास्थ्यमन्त्री विरोध खतिवडा, शहरीमन्त्री रामकुमारी झाँक्री, पर्यटनमन्त्री प्रेम आले, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ, सांसदहरू कृष्णलाल महर्जन, गोपालबहादुर बम, विनादेवी बुढाथोकी, पुष्पाकुमारी कर्ण कायस्थ, धनबहादुर बुढा र निरा जैरु छन् ।