चितवन । भरतपुर महानगरको फोहोर व्यवस्थापन पनि दीर्घकालीनरूपमा योजनाबद्ध छैन । काठमाडौंको तुलनामा चितवनको भरतपुरमा फोहोर सडक र घरमै थुप्रिँदैन । तर, उचित प्रयोग पनि छैन ।
चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने नारायणी नदीलाई पवित्र मानेर नित्य नुहाउने र पूजा गर्नेहरू पनि उत्तिकै छन् । तर, महानगरबाट दैनिक निस्कने फोहोर नारायणी किनार लगेर पुर्ने गरिएको छ । नारायणी पुलपारि गैंडाकोटबाट नदी किनारतर्फ दुई किलोमिटर पश्चिम पुगेपछि तटबन्ध जस्तो देखिन्छ । यो तटबन्ध नभएर महानगरको फोहोरको थुप्रो हो । बस्तीबाट निकै पर भएका कारण यहाँ फोहोर लगेर फाल्दा विरोध छैन । हिउँदसम्म फोहोर मिल्काउन पाइन्छ । तर, बर्खामा भेल बढेर ट्र्याक्टरले मझुवासम्म जाने बाटो पाउँदैनन् । अनि महानगरलाई फोहोर व्यवस्थापनको समस्या आइलाग्छ ।
महानगरका वातावरण तथा हरियाली प्रवर्द्धन र सरसफाइ व्यवस्थापन शाखा प्रमुख इन्जिनियर विराट घिमिरेले दैनिक ७५ टनभन्दा बढी फोहोर नदी किनारमा पुर्ने गरिएको बताए । भरतपुर–१ देखि ५ वडाको फोहोर वातावरण सुन्दर नेपाल प्रालि र ७ देखि १२ सम्मको सिटी वेस्ट म्यानेजमेन्ट कम्पनीले उठाउँछन् । बाँकी वडाको महानगरपालिका आफैंले व्यवस्थापन गर्दै आएको छ । यसका लागि वर्षमा झन्डै तीन करोड खर्च हुने गरेको उनले जानकारी दिए । महानगरबाट संकलित फोहोर ट्रक र ट्रयाक्टरमा नदी किनारमा पुर्न लगिन्छ । कुहिने र नकुहिने फोहोर छुट्टै संकलन गर्ने, कुहिनेबाट मल बनाउने, पुनः प्रयोग गर्न मिल्ने (रिसाइकल गर्न सकिने) वस्तु छुट्याउने र उपयोग हुन नसक्ने मात्र व्यवस्थापन गर्न ल्यान्डफिल साइट बनाउने भनिएको लामो समय भयो । बनेको छैन ।
डेढ दशक अघिदेखि भरतपुरको फोहोर नदी किनारमा थुपार्न थालिएको हो । त्यसअघि जलदेवी सामुदायिक वनभित्र लगेर थुपार्ने गरिन्थ्यो । वनमा फोहोर फाल्न अदालतले रोकेपछि व्यवस्थित ल्यान्डफिल साइट बनाउन नेपाल सरकारले ०६८ मा तत्कालीन भरतपुर नगरपालिकालाई वनको १५ बिघा जग्गासमेत दिएको छ । वनले दिएको जग्गाको सट्टा भर्ना दिनका लागि भरतपुरले माडीमा १५ बिघा जग्गा किनेको पनि सात वर्ष नाघ्यो । तर जलदेवीमा ल्यान्डफिल साइट बनेको छैन । महानगरले फोहोर व्यवस्थापनको गुरुयोजना बनाउन कोरियाको सुडोकोन ल्यान्डफिल साइट म्यानेजमेन्ट कर्पोरेसनसँग ०७५ भदौमा समझदारीसमेत गरेको थियो । १५ महिनाभित्र गुरुयोजना तयार हुने र त्यसपछि ल्यान्डफिल साइट निर्माणले गति लिने भनिएको थियो । भरतपुर महानगर प्रमुख रेनु दाहालले आफ्नो पहिलो कार्यकालमै ल्यान्डफिल साइट बनाएरै छाड्ने प्रतिबद्धता गरेकी थिइन् तर बनेन ।इकान्तिपुरबाट