चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले राजनीतिक खिचातानी नगरी रचनात्मक सहयोगमा लाग्न सबैसँग अनुरोध गरेकी छन्। भरतपुरवासीलाई उनले भनिन्, ‘राजनीतिक खिचातानीमा नलाग्नूस्, म सबैको साझा भएर काम गर्नेछु ।’
भरतपुर–५ रामेश्वर शिवालय मन्दिरमा सोमबार आयोजना भएको वृक्षरोपण तथा सम्मान कार्यक्रममा उनले भनिन्, ‘भरतपुर महानगरको प्रमुखमा निर्वाचित हुँदा सबै पार्टीको मत पाएकाले यो वा त्यो पार्टी भन्ने नै छैन, म साझा भएर विगतमा पनि काम गरेको र आगामी दिनमा पनि साझा भएर काम गर्ने प्रण गर्छु ।’
यो वा त्यो पार्टीको भनेर कुनै पनि भेदभाव नहुने उनको भनाइ थियो । जनप्रतिनिधिभई कार्यभार सम्हालेपछि साझा भएर काम गर्नुको विकल्प नरहेको भन्दै उनले सबै नगरबासीहरु सहकार्य, एकताको भवानाबाट आगाडि बढ्नुपर्ने बताइन् । ‘विगतमा जसरी काम गरेर हुँदैन, त्यो भन्दामाथि उठेर काम गर्ने संकल्प मैले गरेको छु’ उनले भनिन् । दोस्रो कार्यकालको लागि जनताको मन जित्ने कुरा, विश्वास जित्ने, मत लिने कुरा चुनौतीपूर्ण रहेको मेयर दाहालको भनाइ छ ।
भरतपुरलाई स्मार्ट सिटीका रुपमा विकास गर्न आफू लागिपर्ने उनले बताइन् । वृक्षारोपणसहितको सडक बनाउने गरी वडागत तहमा कार्यक्रम लागु हुने जानकारी दिइन् । सबै वडाको सुन्दरता, सरसफाइलाई विशेष प्रथामिकताका साथ कार्यक्रम पनि अगाडि बढाइने उनको भनाइ थियो ।