चितवन । बुटवलका युवा व्यवसायी कृष्णप्रसाद बस्याल काठमाडौँ बुटवल ओहोरदोहोर गरिरहन्थे । व्यवसायको सिलसिलामा उनी प्रायः निजी गाडी प्रयोग गर्थे । बुटवलबाट काठमाडौँ आफैँ आफ्नो गाडी हाँकेर पुग्थे । कहिले प्लेनको प्रयोग गरेर भैरहवाबाट काठमाडौँ पनि जान्थे।
व्यवसायको लागि उनी केही दिन अघिदेखि नै बुटवलबाट काठमाडौँ गएका थिए । हार्डवयरलगायतका व्यवसायमा संलग्न बस्याल शनिबार व्यवसायको सम्पूर्ण काम सकेपछि काठमाडौँबाट निजी गाडीमा बुटवल फर्किए । अबेला फर्केका बस्याललाई बिहान बुटवल पुग्नैपर्ने अवस्थामा थिए ।
निजी गाडीमा काठमाडौँबाट बुटवलको लागि छुटिए । नारायणगढ बजार आइपुगेपछि उनको गाडीमा समस्या आयो । वर्कसपमा गाडी देखाए, राति नै गाडी मर्मत गरेर नसकिने वर्कसपका कर्मचारीले बताए । बिहान व्यवसायको लागि बुटवल पुग्नैपर्ने उनको बाध्यता थियो । गाडी वर्कसपमै छोडेर उनी नारायणगढबाट सार्वजनिक गाडी चढे । जुन गाडी जनकपुरबाट बुटवल जाँदै थियो ।
बिग्रिएको गाडी छाडेर छिटो घर आउने बस्यालको चाहना भने पूरा हुन सकेन । आइतवार बिहानै उनी चढेको लु २ ख ३८४१ नम्बरको गाडी रुपन्देहीको रोहणी पुलबाट खस्यो । सोही दुर्घटनामा बुटवलका उद्यमी, सफल व्यवसायीको मृत्यु भयो । बस्यालको बुटवल–११ कालीकानगरमा बस्याल हार्डवेयर सञ्चालनमा छ ।