चितवन । भरतपुर महानगरले ६० वर्ष उमेर पुगेका महिला स्वास्थ्य स्वयंसेविकालाइ नगद सहित बिदाइ गरेको छ । लामो समय देखि महिला स्वास्थ्य स्वयंसेविका भएर महिला दिदीबहिनीको स्वास्थ्यका क्षेत्रमा उल्लेख्य योगदान गरेको भन्दै भरतपुर महानगरले ६० वर्ष उमेर पुगेका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई नगद ५० हजार सहित प्रमाण पत्र र खादाले सम्मान गरेको छ ।
महानगरमा कार्यरत २ सय ७ महिला स्वास्थ्य स्वयंसेविकाहरु मध्येबाट महानगरको मापदण्ड पुरा गरेका ३६ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई नगद सहित महानगरले सम्मान र बिदाइ गरेको हो ।
सो कार्यक्रममा बोल्दै महानगरपालिका प्रमुख रेनु दाहालले विगत ३५ वर्ष भन्दा बढी समय देखि लगातार सेवामा रहेका स्वयंसेविकाको लागि महानगरपालिकाले नीति बनाएर उनीहरुका लागि नगद सहित सम्मान र बिदाई गरिएको महानगर प्रमुख रेनु दाहालले बताइन् ।
सधै सेवामै खटिने उनीहरुका लागि ५० हजार नगद खास ठुलो नभएपनि महानगरले नमुना कामको थालनी गरेको दाहालको भनाई छ ।
सो अवसरमा बोल्दै महानगरका प्रमुख प्रशासकिय अधिकृत भोजराज खतिवडाले निस्वार्थ भावले लामो समयसम्म काम गरेका स्वास्थ्य स्वयंसेविकालाई सम्मान गर्नु आफैमा सार्थक कामको सुरुवात भएको बताए । आगामी दिनमा पनि महिला स्वास्थ्य स्वयंसेविकालाई कसरी सहयोग गर्न सकिन्छ त्यता तर्फ आफुहरुको ध्यान जाने उनको भनाई छ ।
स्वास्थ्य स्वयंसेविका सञ्जाल भरतपुर महानगर अध्यक्ष सुभद्रा श्रेष्ठले महानगरले आफुहरुका समस्या समाधानमा ध्यान दिएको र आगामी दिनमा पनि थप सहयोग हुने कुरामा आफुहरु धेरै आशावादी रहेको बताइन्।
भरतपुर महानगरका जनस्वास्थ्य अधिकृत केशव भट्टले महानगरमा कार्यरत २ सय ७ जना मध्ये पछिल्लो कार्यबिधिमा उल्लेख्य भएको व्यवस्था अन्तर्गत आफुहरुले ३६ जनालाई बिदाइ गर्ने योजना अनुसार नगद सहित सम्मान गरेर बिदाइ गरेको बताए । अझै केही स्वयंसेविका ६० वर्ष उमेर पुगेका र बिदाई हुन नचाहनेहरु पनि रहेका र उनीहरुलार्ई अर्को वर्ष बिदाइ गरिने उनले बताए ।
मातृ मृत्युदर र बाल मृत्युदर घटाउन स्वास्थ्य स्वयंसेविकाको भुमिका महत्वपुर्ण रहेको बताए । ४५ सालदेखि राज्यले स्वास्थ्य स्वयंसेविका नियुत्ति गर्ने र परिचालन गर्ने योजना बनाएको र त्यही कार्यक्रम अन्तर्गत महानगरमा पनि स्वास्थ्य स्वयंसेविकाले निरन्तर काम गरिरहेको भट्टको भनाई छ ।