एजेन्सी। नेपाली समयअनुसार बुधवार बिहान सम्पन्न कोपा अमेरिकाको सेमीफाइलनमा अर्जेन्टिनाले कोलम्बियालाई पेनाल्टी शूटआउटमा हराएपछि कप्तान लियोनेल मेसीले गोलकीपर एमिलियानो मार्टिनेजको प्रशंसा गरेका छन् ।
२८ वर्षे कीपर मार्टिनेजले अन्तर्राष्ट्रिय खेल अघिल्लो महिनाबाट मात्र खेल्न पाएका थिए । एस्टन भिल्लामा निकै राम्रो सीजन बिताएका मार्टिनेजले अर्जेन्टिनाको जीतमा योगदान गरेर आफूलाई नायक साबित गरेका छन् ।
लाउटारो मार्टिनेजले अर्जेन्टिनाका लागि गोल गरेपछि कोलम्बियाले ६१औं मिनेटमा लुइस डिाजको गोलमार्फत बराबरी गरेको थियो । खेल पेनाल्टीमा गएपछि एमिलियानो मार्टिनेजले उम्दा प्रदर्शन गरे ।
उनले तीनवटा गोल बचाएपछि ३–२ को अन्तरले अर्जेन्टिना विजयी भयो । ‘एमी अद्भुत खेलाडी हुन्,’ मेसीले भने । ‘हामीले उनलाई विश्वास गरेका थियौं । हामीले यस प्रतियोगितामा सबै खेल खेल्न पायौं र अहिले फाइनल पनि पुग्यौं ।’
अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनीले मार्टिनेजको प्रभाव पेनाल्टी शूटआउटमा मात्र नभई अन्य बेलामा पनि रहेको बताए ।
उनकै कारणले डिफेन्डरहरू उच्च मनोबलका साथ खेल्न समर्थ भएको स्कालोनीको भनाइ छ । फाइनलमा अर्जेन्टिनाको भिडन्त ब्राजिलसँग हुनेछ । ब्राजिलले पहिलो सेमीफाइनलाई पेरुलाई हराएको हो ।