चितवन। चितवनमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या बढ्दै गएको छ ।जिल्लामा १ हजार १४ जनामा झरेको सक्रिय संक्रमितको संख्या बढ्दै गएर १ हजार २७१ पुगेको छ ।स्वास्थ्य कार्यालय चितवनको तथ्यांक अनुसार पछिल्ला केही दिनमा संक्रमितको संख्या बढ्दै गएको छ । त्यसो त वैशाख र जेठमा सक्रिय संक्रमितको संख्या निकै बढी थियो ।
कार्यालयका प्रमुख दीपकप्रसाद तिवारीका अनुसार जेठको दोस्रो हप्ता सक्रिय संक्रमितको संख्या ४ हजार ७०० नाघेको थियो । जेठ १० गते ४ हजार ७१३ पुगेको थियो । असार लागेसँगै घट्दै गएको संक्रमितको संख्या पुनः बढ्न थालेको छ । असार १ गते १ हजार ५४८ रहेका सक्रिय संक्रमितको संख्या घट्दै गएर असार १३ गते १ हजार १४ मा झरेको थियो ।
जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार असार १४ गते १ हजार ८७, १६ गते १ हजार १९८ र १८ गते १ हजार २२० हुँदै यो संख्या १ हजार २७१ पुगेको छ ।
सक्रिय संक्रमितको प्रतिशत पनि बढ्दै गएको छ । असार ५ गते यस वर्षकै कम २ दशमलव १ प्रतिशत संक्रमित भएकामा असार १५ गते १७ दशमलव ९६ प्रतिशत, १८ गते २३ दशमलव २४ प्रतिशत, १९ गते २७ दशलमव २४ प्रतिशत, २० गते २७ दशमलव २४ प्रतिशत, २१ गते १९ दशमलव ६९ प्रतिशत र २२ गते १८ दशमलव४३ प्रतिशत रहेको छ ।
कार्यालय प्रमुख तिवारी निषेधाज्ञा खुकुलो हुँदै जाँदा संक्रमित बढ्दै गएका बताउँछन् । उनले भने, ‘राम्रोसँग संक्रमितको संख्या घट्न नपाउँदै पुनः बढ्न थालेपछि खतरा बढेको छ ।’ मानिसलाई खुकुलोपना बढी चाहिएका कारण पुनः संक्रमण थपिएर जाने हो कि भन्ने चिन्ता बढेको उनको भनाइ छ । उनले भने, ‘निषेधाज्ञा खुकुलो भए पनि उच्च सावधानी अपनाउनुपर्यो ।’