चितवन । रत्ननगर नगरपालिकामा गठबन्धनका मेयर पदका उमेदवार प्रह्लाद सापकोटाले चुनावी अभियान तीव्र पारेका छन् । गठबन्धनका उपमेयर पदका उमेदवार बद्रिनाथ घिमिरेसहित घरदैलोमा पुगेका सापकोटाले वृद्धवृद्धासँग आशीर्वाद थाप्दै अग्रजहरुको आशीर्वाद खेर जान नदिने प्रण गरेका छन् ।
शुक्रबार रत्ननगर–३, शान्तिचोकमा घरदैलो अभियानका क्रममा उनले अग्रज ज्येष्ठ नागरिकहरुसँग आशीर्वाद लिँदै कांग्रेससहितको गठबन्धनलाई मतदान गर्न आग्रह गरे। उनले ज्येष्ठ नागरिकहरुलाई घरघरमा स्वास्थ्यकर्मी पठाएर सुगर, प्रेसरलगायतका बिरामीको परीक्षण गरी निःशुल्क औषधि वितरण गर्ने बताए।
उनले घरदैलोका क्रममा आममतदाताको आशा र भरोसालाई खेर जान नदिने बताए। उनले ६५ वर्षमाथिका सबै नगरवासी र अतिविपन्न परिवारको पहिचान गरी निःशुल्क स्वास्थ्य बिमाको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले भने, ‘मैले विगतमा पनि समाजप्रति उत्तरदायी भएर काम गर्दै आएको छु । मेयरमा विजयी भएपछि पनि यो र त्यो नभनीकन समग्र नगरवासीको सेवा गर्नेछु।’
‘रत्ननगरको समग्र विकास मेरो लक्ष्य हो, सुशासन मेरो उद्देश्य हो र शून्य भ्रष्टाचार मेरो गन्तव्य हो’, उनले भने, ‘आममतदाताको विश्वास कायम राख्दै म कहिल्यै व्यक्तिवादी बनेर निर्णय गर्ने छैन।’ उनले आमा, दिदीबहिनीसँग मत माग्दै आधा आकाश ढाक्ने महिलावर्गको सम्मानका लागि महिला सशक्तीकरणका कार्यक्रम सञ्चालन गर्न आतुर रहेको बताए।
रत्ननगरमा २५ वर्षदेखि पूरा नभएका नगरवासीका सपनालाई आफूले मूर्तरुप दिने र त्यसका लागि विषयविज्ञहरुसँग आवश्यक परामर्श गरी समग्र नगरवासीको हकहित र सुरक्षाका लागि समर्पित रहने बताए। आफूले बोलेरभन्दा पनि काम गरेर देखाउने भएकाले नगरवासीले आफूलाई मतदान गर्न उनले आग्रह गरे ।