चितवन । पछिल्लो पटकको निशेधाज्ञा खुकुलो भएसंँगै कोरोना संक्रमणदर र मृत्युदरमा बृद्धि भएको छ ।
स्वास्थ्य कार्यालय चितवनले आज सार्वजनिक गरेको तथ्यांक अनुसार आइतबार ४ जनाको मृत्यु भएको छ भने १६५ जना संक्रमित थपिएका छन । आइतबार ७३ जनालाई देखिएको संक्रमण आज दोब्बर भएर १६५ पुगेको हो । शनिबार ६६ जना र शुक्रबार ७६ जनामा संक्रमण पुष्टि भएको थियो । गत बिहीबार र बुधबारको संक्रमण दर १०० को हाराहारीमा थियो ।
चितवनका सात स्थानीय तह मध्ये भरतपुर महानगरपालिकामा १०१ जना, खैरहनीमा १५ जना, माडी नगरपालिकामा ८ जना, रत्ननगर नगरपालिकामा २४ जना, राप्ती नगरपालिकामा १५ जना र कालिकामा २ जना संक्रमित थपिएका छन् । यो सँगै चितवनमा संक्रिय संक्रमितको संख्या ११ हजार ३१ पुगेको छ । जसमा घरमा आइसोलेसनमा एक हजार १३१ जना, अस्पतालको आइसोलेसनमा ९२ जना र सार्वजनिक आइसोलेसनमा ३२ जना रहेका छन् ।
विगत २४ घण्टामा चितवनका विभिन्न अस्पतालहरुमा चार जनाको कोरोना संक्रमणको कारणले निधन भएको मध्ये भरतपुर अस्पतालमा २ जना, चितवन मेडिकल कलेजमा १ जना र पुरानो मेडिकल कलेजमा १ जना रहेका छन् ।
स्वास्थ्य कार्यालयका अनुसार मृतकमध्ये चार जना नै चितवन बाहिरका हुन् । त्यस्तै आजसम्म चितवनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २८७ जना पुगेको छ । विगत २४ घण्टामा चितवनका विभिन्न अस्पतालबाट २४ जना डिस्चार्ज भएका छन् । त्यसैगरी चितवनका विभिन्न अस्पतालमा कोरोनाका १९७ जना बिरामीले उपचार गराइरहेका छन् । जसमा आईसीयूमा ६८ जना, भेन्टिलेटरमा १७ जना, एचडीयूमा ३८ जना र जेनरल बेडमा ९१ जना रहेका छन् ।