चितवन । नेपाली कांग्रेसका नेता हाल भरतपुर महानगरपालिकामा स्वतन्त्रबाट मेयरमा उठेका जगन्नाथ पौडेलले आफू कांग्रेसका जिल्ला सभापति राजेश्वर खनालजस्तो अपरिपक्व नभएको बताएका छन् ।
सञ्चारकर्मीसँगको अन्तर्वार्तामा उनले सभापति खनालप्रति संकेत गर्दै भने, ‘बाह्र सत्ताइस कुरा गरेर हुन्छ ? राजेश्वर जस्तो हामी अपरिपक्व छैनौं, राजेश्वरजी जन्मिनुभन्दा अगाडिबाट हामीले चारतारे झण्डा बोकेर राजनीति गरेको हो ।’ नेता पौडेलले भने, ‘उहाँ (राजेश्वर) ले तीन साता अगाडि बोलेको कुरा र आज बोलेको कुरा सुन्नुस् त कति फरक छ ? उहाँलाई के भनिरहेका छन् आम मानिसले एकपटक हेर्नुस् ?
सञ्चारकर्मीले जिल्ला नेतृत्व किन निर्णयमा अडिन सकेन होला ? भन्ने प्रश्न राख्दा नेता पौडेलले भने, ‘त्यो उहाँहरूलाई सोध्नुस् । भरतपुरको नेतृत्व चाहिन्छ पनि भन्ने, रूखभन्दा अन्यत्र मत हाल्दैनौं पनि भन्ने, कार्यकर्तालाई सोही अनुसार उचाल्ने । अनि अहिले माओवादीलाई जिताउनुपर्छ भनेर हिंड्ने नेतृत्वलाई तपाईं आफैं सोध्नुस् । पार्टीमा कार्यकर्तालाई ठण्डा लगाउने, अरूका छोरी, ज्वाइँ, भतिजालाई टिकट दिने, भाइबुहारीलाई टिकट दिने काम र प्रथाको अन्त्य हुनुपर्छ भनेर लडेको हुँ ।’