चितवन । स्थानीय निर्वाचन नजिकिँदै गर्दा चुनावी सरगर्मी बढ्नु स्वभाविक नै हो । चितवन राजनीतिको केन्द्रबिन्दु मानिन्छ । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डे, रामबहादुर थापा ‘बादल’ र पार्वती रावल लगायतका प्रभावशाली नेताको गृहजिल्ला रहेका कारण पनि चितवन एमालेको प्रभावको केन्द्र मानिन्छ । त्यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अर्का प्रभाकारी नेता नारायण दाहालको समेत गृह जिल्ला हो चितवन । सोही कारण माओवादी केन्द्रको समेत राम्रो पकड छ चितवमा ।
यता नेपाली कांग्रेसका प्रभावशाली नेताहरु दिनेश कोइराला, राजेश्वर खनालले पनि चितवनमा कांग्रेसको प्रभाव राम्रो भएको दाबी गर्छन् ।
यससँगै चितवनको एकमात्र महानगरपालिका भरतपुरमा अबको मेयर को ? भन्ने विषयमा जनबहस हुनु स्वभाविक नै हो । नेकपा एमालेका तर्फबाट उमेदवार बनेका छन् विजय सुवेदी । त्यस्तै, पाँच दलिय गठन्धनका तर्फबाट मेयरकी उमेदवार रेनु दाहाल र बागी उमेदवार जगन्नाथ पौडेलले स्वतन्त्रबाट उमेदवारी दिएका छन् ।
यतिखेर भरतपुरबासीले मेयरमा उमेदवारी दिएका उमेदवारमध्ये कसलाई मेयरमा देख्न चाहेको भन्ने विषयमा आ–आफ्नै तर्क राखेका छन् । कोही रेनु दाहालका पक्षमा देखिएका छन् भने कोही विजय सुवेदीलाई नै मेयर बनाउनुपर्ने पक्षमा छन् ।
त्यस्तै जगन्नाथ पौडेलका पक्षमा पनि केही हदसम्म जनमत देखिएको छ ।
मेयर हुँदा रेनु दाहालले पाँच वर्षको कार्यकालमा भरतपुरमा उनले गरेका विकासका कारण पुनः दाहाललाई नै मेयर बनाउनुपर्ने दाहालका समर्थकको भनाई छ ।
त्यस्तै विजय सुवेदीका समर्थकले सुवेदीका गुरुयोजनाले नै भरतपुरमा विकासको मूल फुटाउन सक्ने भन्दै उनैलाई भरतपुरको मेयरमा देख्न चाहेको बताउँछन् ।
भुईँकटर चुनाव चिह्न लिएर चुनावी मैदानमा उत्रिएका स्वतन्त्र उमेदवार जगन्नाथ पौडेल, तराजु चुनाव चिह्नका उमेदवार प्रविन काफ्ले, गोलाकारभित्र हँसिया हतौडाकी उमेदवार रेनु दाहाल वा सूर्य चिह्नका उमेदवार विजय सुवेदी भरतपुरबासीले नयाँ मेयरको रुपमा कसलाई पाउँछन् त ? या कुनै अन्य ?