चितवन । तत्कालिन प्रधानमन्त्री केपी ओलीले भरतपुरलाई ‘स्मार्ट सिटी’ बनाउने योजनाको सूचीबाट हटाएको भन्ने हल्ला निराधार भएको दावी एमाले चितवनले गरेको छ । ओलीले भरतपुरलाई स्मार्ट सिटी बनाउने योजनाको सूचीबाट हटाएको भनि भ्रम छर्ने प्रयास भइरहेको हुनाले यस्तो हल्लाको पछि नलाग्न एमालेले सबैलाई सचेत गराएको छ ।
चालु आर्थिक वर्षको बजेटमा तत्कालिन ओली सरकारले भरतपुुरको स्मार्ट सिटीको बजेट काटेको भनेर गरिएको हल्ला तथ्य र आधारहीन भएको एमालेले जनाएको छ । तत्कालीन समयमा भरतपुरलाई स्मार्ट सिटी बनाउने योजनाको सूचीबाट हटाएको भनेर केही सञ्चारमाध्यममा समाचार आएपछि शहरी विकास मन्त्रालयले एक विज्ञप्ती नै जारी गरेर भरतपुरलाई स्मार्ट सिटीको रुपमा विकास गर्ने योजना नहटाएको जनाएको थियो ।
मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भरतपुरसहित बाराको निजगढ, गोरखाको पालुङ्टार, कैलालीको टिकापुरलाई स्मार्ट सिटीको सूचीबाट हटाएको भन्ने कुरा कपोल्कल्पित भएको उल्लेख गरेको थियो ।