नयाँदिल्ली । भारत बायोटेकले आफूले बनाएको कोरोना खोप ‘कोभ्याक्सिनको प्रभावकारिता ७७ दशमलव ८० प्रतिशत प्रभावकारी भएको बताएको छ ।
हैदराबादस्थित भारत बायोटेक कम्पनीले तेस्रो चरणको परीक्षणमा खोपको प्रभावकारिता ७७ दशमलव ८० प्रतिशत देखिएको दाबी गरेको छ । लक्षण देखिएका(सिम्प्टोमेटिक) बिरामीमा परीक्षण गर्दा खोप प्रभावकारी देखिएको पनि कम्पनीको दाबी छ ।
कम्पनीले लक्षण नदेखिएका कोरोना संक्रमितमा भने उक्त खोप ६३ दशमलव ६० प्रतिशत प्रभावकारी देखिएको बताएको छ । कोरोनाको डेल्टा भेरियन्टविरुद्ध पनि कोभ्याक्सिन ६५ दशमलव २० प्रतिशत प्रभावकारी देखिएको बताइएको छ ।
कोभ्याक्सिन २ देखि ८ डिग्री सेल्सियस तापक्रममा सुरक्षित भण्डारण गर्न सकिने पनि कम्पनीले बताएको छ । भारत बायोटेकले भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद्को सहकार्यमा कोभ्याक्सिन उत्पादन गरेको हो । एजेन्सी