चितवन । गृहमन्त्री बालकृष्ण खाँणले भरतपुर महानगरको मेयरमा नेपाली कांग्रेबाट बागी उठेका जगन्नाथ पौडेललाई भेटेपछि निर्वाचन आयोगको ध्यानाकर्षण भएको छ ।
बागी उम्मेदवारलाई फिर्ता गराउने प्रधानमन्त्री शेरबहादुर देउवाको ठाडो निर्देशनमा चितवन आइपुगेका गृहमन्त्री खाँण बागी उमेदवारको निवासमा पुगेर उमेदवार फिर्ताको लागि दबाब दिएका थिए । सोही विषयलाई आयोगले आफ्नो नोटिसमा रहेको जनाएको छ। सार्वजनिक पदमा रहेको व्यक्ति फिल्डमा पुगेर बागी उमेदवारलाई भेट्नु आचारसंहिताविपरीत हुन जाने आयोगको भनाइ छ ।
आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बिहीबारको पत्रकार सम्मेलनमा भने, ‘पब्लिक पोस्ट र पब्लिक रिसोर्सिजमा पक्लिक रिस्पोन्सिबिलिटिज हुन्छ । त्यो हिसाबले हाम्रो आचारसंहिताले त्यो खालको अपेक्षा गर्दैन । यसबारे आयोगले थप निर्णय गर्नेछ ।’