कावासोती। पूर्वी नवलपरासीको कावासोती नगरपालिका-४ हसौरामा दूध दिइरहेको भैंसी ब्याएपछि किसान अचम्मित भएका छन् । हसौराका किसान रमाकान्त चापागाईँको भैंसी शुक्रबार बिहान ब्याएको छ, जसले बिहीबारसम्म दूध दिएको थियो ।दैनिक १५/१६ माना दूध दिइरहेको भैंसी ब्याएपछि अचम्म लागेको किसान चापागाईंले बताए ।
चापागाईंले २०७६ कात्तिकमा नजिकैको गाउँबाट ७८ हजारमा पहिलो बेते लैनो भैंसी किनेर ल्याएका थिए । भैंसी २०७६ असोजमा ब्याएको थियो । भैंसीले त्यसयता २१ महीना निरन्तर दूध दिएको चापागाईँले बताए । भैंसीको ब्याउने मिति आइसक्दा पनि निरन्तर दूध दिएपछि चापागाईंले नगरपालिकामा खबर गरेका थिए ।नगरपालिकाको पशु विकास शाखाले भैंसीको बारेमा जानकारी लिएको र ब्याउने मिति नजिकिंदा पनि दूध दिइरहेको पाइएको थियो । नगरपालिकाका पशु विकास अधिकृत टेकराज पौडेलले चापागाईंको भैंसीले ब्याउने बेलासम्मै निरन्तर दूध दिइरहेको पुष्टि गरे ।
ब्याउने मिति नजिकिंदा पनि भैंसीले दूध दिइरहेको थाहा पाएपछि डाक्टर पौडेलले केही समय दूध नदुहुन भनेका थिए । तर भैंसी धेरै नै पग्रिएपछि अप्ठ्यारो होला भनेर दुहुन सुझाव दिएका थिए । भैंसी मालिक चापागाईंले भैँसीले दूध घटाउला र दुहुन छोड्नु पर्ला भन्दा भन्दै भैंसी ब्याएको बताए ।
पशु चिकित्सकका अनुसार सामान्यतया भैंसीले एक बेतमा ६ महीनासम्म दूध दिनसक्छ । भैंसीको जात अनुसार केही महीना तलमाथि हुनसक्छ । डाक्टर पौडेलका अनुसार चापागाईंको भैंसी मुर्रा क्रस हो । यसले ६ महीनामा एक हजार ८०० लिटरसम्म दूध दिन्छ । उन्नत जातका गाईंले यसरी निरन्तर दूध दिने गरेका घटना भए पनि भैंसीले यसरी दूध दिनु दुर्लभ भएको डाक्टर पौडेलले बताए ।