चितवन । नेपाल कम्युनिष्ट पार्टी नेत्र विक्रम चन्द विप्लव नेतृत्व समुहले देशभर जागरण अभियान शुरु गर्ने भएको छ । पछिल्लो समय देशभर बेथिति, अनियमितता , भ्रष्टाचार बढेको भन्दै यसलाई नियन्त्रण गर्न चितवन जिल्ला लगायत देशभर अभियान थाल्न लागेको बताएको छ । आज नारायणगढमा जिल्ला समिति चितवनले पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी दिएको हो । पार्टीले अभियानका लागि १९ बुंँदे निर्णय समेत सार्वजनिक गरेको थियो ।
पत्रकार सम्मेलनमा बोल्दै पार्टीका केन्द्रीय सदस्य एवं जिल्ला ईन्चार्ज सन्देश पौडेलले देशभर स्थानीय पालिका देखि संघीय संरचना सम्म बेथिति, भ्रष्टाचार , अनियमितिता बढेको जनतालाई साथ लिएर यसको नियन्त्रण गर्न अभियानको घोषणा गरेको बताए । शुरुवाती चरणमा यस विरुद्ध सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउने, भ्रष्टाचारको भण्डाफोर गर्ने संघर्षका कार्यक्रमलाई अगाडि बढाउने जागरणको मुख्य तालिका रहेको बताए ।
कोभिडका कारण जागरण अभियानको मिति नतोकिएपनि यस अभियानको अन्त्य ४ महिनामा गरिने उनको भनाई छ । ‘हाम्रो लक्ष्य भनेको वैज्ञानिक समाजबाद हो पौडेलले भने, यसका लागि अहिलेको व्यवस्था परिवर्तन हुनु आबश्यक छ ।’ पार्टीले आफ्नो लक्ष्यप्रति कत्तिपनि विचलित नभएको भन्दै उनले पार्टीले अब घरघरमा गएर जनमत संग्रहको लागि जागरण ल्याइने बताए ।
सरकारसंँगको तीन बुँदे विषयमा बोल्दै उनले भने, ‘सरकारसंँग हाम्रो तीनबुँदे सहमति भएको हो । तर कार्यान्वयन ढिला भइरहेको छ ।हाम्रा १३५ जना नेता कार्यकर्ता तुरुन्त रिहा हुनु पर्ने माग हो ।’ उनले भने । सरकारसंँग आफ्नो माग र सहमति अनुसार भएको कामप्रति असन्तुष्टी जनाउंँदै पुन संर्घषमा जानुपर्ने उनले संकेत गरे ।
सरकार हामीसंँग सकारात्मक त देखिन्छ , तर सहमति कार्यान्वयन किन ढिलाई भईरहेको छ भन्ने हाम्रो असन्तुष्टी हो । आगामी दिनमा नेत्रविक्रम चन्द विप्लवलाई देशको सत्ता सम्हाल्ने अवसर प्राप्त भएपनि यो संसदीय प्रणाली र व्यवस्था अनुसार सत्ता सञ्चालन नहुने उनको जिकीर थियो । कोभिडका बीच पनि पार्टीले आन्तरिक रुपमा दुईसयभन्दा बढी कार्यक्रम गरिसकेको उक्त समुहले जानकारी दिएको छ ।
कार्यक्रम जिल्ला सेक्रेटरी मीनप्रसाद सापकोटाको अधयक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा विप्लव समुहका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो ।