चितवन । पाँच दलीय सत्ता गठबन्धनले भरतपुर महानगरको उपमेयरमा चित्रसेन अधिकारीलाई उठाउने भएको छ । गठबन्धनमा भरतपुर महानगरको उपमेयर नेपाली कांग्रेसको भागमा परेको छ ।
नेपाली कांग्रेस भरतपुर महानगर समितिका सभापतिसमेत रहेका अधिकारीले भरतपुर–२१ को वडा अध्यक्ष हुन् । उनले वडाध्यक्षबाट राजीनामा दिएका छन् । वडाध्यक्ष अधिकारीले महानगर उपप्रमुख पार्वती शाह ठकुरीलाई बुझाएको राजीनामा स्वीकृत भइसकेको छ ।
कांग्रेसका शीर्ष नेताहरूको बैठकले आफ्नो भागमा परेको भरतपुरको उपमेयरको सिटमा अधिकारीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। यसअघि अधिकारीले भरतपुरको मेयरमा दाबी गरेका थिए । उनले मेयर आफ्नो पार्टीको भागमा नपरेपछि उपप्रमुखको उम्मेदवार बन्न लागेका हुन् ।