तनहुँ । मङ्गलबार साँझदेखि परेको अविरल वर्षाका कारण पहिरो खस्दा शुक्रबार बिहान दुई जनाको जीवितै उद्धार गरिएको छ । जिल्लाको भानु नगरपालिका–८ गैह्रीफाँट डुम्रे–बेँसी सडकखण्डअन्तर्गत जिल्ला लमजुङ बेँसीशहर नगरपालिका–१० बस्ने २४ वर्षीय सरोज रिमाल र सोही ठाउँ निवासी ३५ वर्षीय सुनिल रावत घाइते भएका हुन् ।
बिहान अन्दाजी पाँच बजेको समयमा घरमाथिबाट खसेको पहिराले पुरिँदा सरोज रिमाल गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए । घाइते दुवैको लमजुङ अस्पतालमा उपचारको लागि पठाइएको छ ।
खेतमा डुबेर एकको मृत्यु
निरन्तर वर्षा भइरहेको अवस्थामा रातको समयमा खेतमा पानी लगाउन गएका तनहुँका एक व्यक्तिको डुबेर मृत्यु भएको छ । शुक्लागण्डकी नगरपालिका–८ का ५८ वर्षीय भोजबहादुर विकको खेतमा आएको भेलमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
अविरल वर्षा भइरहेको समयमा रातको समयमा खेतमा गएका विकको जागृति टोलस्थित खेतमा मृतावस्थामा शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले खेतमा लडेपछि डुबेर मृत्यु भएको हुनसक्ने आशङ्का गरिएको बताए । मृतकको शव परीक्षणका लागि दमौली अस्पताल पठाइएको छ । रासस