चितवन । सत्तारुढ गठबन्धनमा भरतपुर महानगरपालिकाको मेयर माओवादी केन्द्रले पाउने निश्चित भइसकेको छ । भरतपुरको मेयर कांग्रेस पाउनेपर्ने अडान राख्दै आएको चितवन कांग्रेस अन्ततः केन्द्रबाट लादिएको चुनावी तालमेलमा सहमत भएको छ ।
चितवनका अन्य ६ पालिकामा कांग्रेसले ४ पालिकाको प्रमुख लिने लगभग सहमति भएको छ । कांग्रेसका एक नेताका अनुसार ३ पालिकाको उपप्रमुख पाउने निश्चित छ । नेपाली कांग्रेस चितवनका अनुसार कांग्रेसले रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका र कालिका नगरपालिका तथा इच्छाकामना गाउँपालिकाको प्रमुख पाउने मोटामोटी सहमति भएको छ।
यस्तै, माओवादी केन्द्रले भरतपुर महानगरसहित माडी नगरपालिकाको प्रमुख र एकीकृत समाजवादीले राप्ती नगरपालिकाको प्रमुख लिने सहमति अन्तिम तयारी भइरहेको छ । भरतपुरमा उपप्रमुखमा नेपाली कांग्रेसले पाउने पक्का भएको छ ।
कांग्रेसले भरतपुरबाहेक माडी, राप्ती र इच्छाकामनाको उपप्रमुख पाउने छ । यस्तै समाजवादीले रत्ननगरको उपप्रमुख पाउनेछ । माओवादीले खैरहनी र कालिका नगरपालिकाको उपमेयर पाउनेछ । कांग्रेस चितवनले अध्यक्ष र उपाध्यक्ष दुवैमा दावी गरेको छ। अन्तिम टुंगो लगाउन बाँकी रहेको कांग्रेसले जनाएको छ ।