चितवन । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले चितवन कांग्रेसका सभापति राजेश्वर खनाललाई भरतपुर महानगरको मेयर नेकपा माओवादी केन्द्रलाई दिनुपर्ने अवस्था आइपरेको बताए ।
आज बालुवाटारमा चितवन सभापति खनाललाई प्रधानमन्त्री देउवाले जिल्लाको नेतृत्व तपाईँले लिएको हुनाले यसबारेमा ब्रिफिङ गर्नेदेखि माओवादी केन्द्रका मेयरका उम्मेदवारलाई जिताउनेसम्मको जिम्मेवारी लिन आग्रह गरेका थिए । देउवाले बोलाएपछि सभापति खनाल हिजै काठमाडौँ गएका थिए ।
‘काठमाडौं, ललितपुर र विराटनगर हामीले लिएपछि भरतपुर भरतपुर माओवादीलाई दिनुपर्ने भयो, तपाईंले जिल्लाको माहोल बिग्रन दिन भएन’ देउवाले खनाललाई भने । जवाफमा खनालले जिल्लामा कार्यकर्ताहरु भरतपुर महानगरपालिकाको मेयर कांग्रेसले छाड्न नहुने पक्षमा रहेकाले आफूले जितको जिम्मेवारी लिन नसक्ने बताएका थिए ।