चितवन । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसका चितवन सभापति राजेश्वर खनाललाई काठमाडौँ बोलाएका छन् । देउवाले गण्डकी प्रदेश र कास्कीका सभापतिसहितका नेताहरुलाई पनि काठमाडौं बोलाएका छन् ।
महानगरपालिकाको भागवण्डामा स्थानीय तहका कांग्रेस नेताहरुले नमानेपछि देउवाले कांग्रेस सभापतिहरुका टोलीलाई काठमाडौँ बोलाएका हुन् । गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, कास्की सभापति किशोर दत्त बराल र नेता यज्ञबहादुर थापा काठमाडौं आउँदैछन् । चितवन सभापति राजेश्वर खनाल काठमाडौँ पुगिसकेका छन् ।
निर्वाचनमा एमालेले जितेको पोखरा महानगरपालिका कांग्रेस र एकीकृत समाजवादी दुवैले दाबी गर्दा गठबन्धनको भागबन्डा टुंगो लाग्न सकेको छैन । भरतपुर महानगर माओवादी केन्द्रको भागमा परेपछि स्थानीय कांग्रेस नेताहरु पार्टी छोड्नेक्रम बढेको छ । चितवनका कांग्रेस नेताहरुले गठबन्धन नमान्ने चेतावनी दिइरहेका छन् । भरतपुर महानगर माओवादी केन्द्रलाई दिने लगभग पक्का भएपछि जिल्लामा कांग्रेस कार्यकर्तामा आएको भड्काउलाई मिलाउन प्रधानमन्त्री देउवाले सभापति खनाललाई बोलाइएको अनुमान गरिएको छ ।