काठमाडौं । नेकपा एमालेको विवाद झन् पछि झन् बढदै जान थालेपछि एमालेमा रहेका पूर्वमाओवादी नेताहरु बिचल्लीमा परेका छन् । माओवादी केन्द्रमा राम्रो हैसियत भएका रामबहादुर थापा बादल, लेखराज भट्ट, टोपबहादुर रायमाझी, मणि थापा, प्रभु शाह लगायत २० भन्दा बढी नेता अहिले निर्वाचन आयोगको रेकर्डमा एमाले र माओवादी केन्द्र दुवै पार्टीमा भेटिंदैनन् ।
२०७५ जेठ ३ गते तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकरण भई नेकपा गठन भएसँगै उनीहरु नेकपाको नेता थिए । हाल नेकपा भन्ने पार्टीको अध्यक्ष केपी ओली र प्रचण्ड दुवै छैनन् । नेकपाको अध्यक्ष ऋषि कट्टेल छन् ।
ती दुई पार्टीको एकतालाई सर्वोच्च अदालतको फैसलाले छुटाइदिएपछि माओवादी केन्द्रमा रहेका बादल, भट्ट, रायमाझी, शाहलगायत केही नेताले माओवादीभन्दा एमाले रोजेका थिए ।
माओवादी पार्टीको चुनाव चिन्हबाट निर्वाचित भएका उनीहरुमध्ये केही नेता प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीसँग नजिक हुन पुगेका थिए । लगत्तै उनीहरुको सांसद पद गुमे पनि ओलीको मन्त्रीमण्डलमा स्थान पाएपछि माओवादी पार्टी र त्यसका अध्यक्ष प्रचण्डविरुद्ध खुलेरै लागेका थिए । उनीहरुले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई विगतमा बाबुराम, बैद्य, विप्लव जस्ता नेताले छाडेको र अब प्रचण्डसँग कोही पनि नरहने समेत भनेका थिए ।
तर, तिनै नेता अहिले एमाले पार्टीमा पनि खुशी देखिँदैनन् । प्रधानमन्त्री ओलीले पछिल्लो पटक गरेका धेरैजसो निर्णयमा आफुहरुलाई सोधपुछ समेत नगरेको र नियुक्ति, सरुवा-बढुवामा समेत कसैलाई स्थान नदिएको भन्दै उनीहरुले ओलीसँग पनि निर्णायक वार्ता आवश्यक भएको भन्न थालेका छन् । एमालेमा प्रवेश गरेको पुर्वमाओवादी समूह भन्ने र त्यसको लिडर बादल मात्रै हुन् भन्ने ढंगले व्यवहार भएको भन्दै उनीहरुले बादल समूह भनेर एमालेमा चिनिन आवश्यक नभएको भनेका छन् ।
साथै उनीहरुले आफुहरु नेकपा बनाउने अभियानमा जोडिएर यता आइपुगे पनि एमाले प्रवेश नगरेको बताउन थालेका छन् । प्रधानमन्त्री ओलीले प्रचण्डविरुद्ध प्रयोग मात्रै गर्न खोजेका हुन् कि भन्ने समेत उनीहरुको गुनासो छ ।
एमालेमा आफुहरुको अवस्था र हैसियत के हुने ? र भविष्यमा राजनीति गर्ने ग्राउण्ड के हुने भन्ने अन्यौल समेत रहेको भन्दै उनीहरुले काठमाडौंको एभरेस्ट होटलमा छुट्टै भेला गरी अबको गन्तव्यबारे विचार विमर्श गरेका थिए । उनीहरुले अहिले जनताको बहुदलीय जनवाद मानेर एमाले बन्न मन नभएको भन्दै गल्ती भयो भन्नुभन्दा बरु राजनितीबाटै सन्यास लिएर कृषिमा लाग्ने ठट्यौली गफ समेत गरेको स्रोतको दाबी छ ।
एमाले अध्यक्ष ओलीलाई पार्टीको नाम एमाले नराखौं र ‘जनताको बहुदलीय जनवादलाई जनताको जनवाद भनौं’ भन्ने प्रस्ताव समेत गरेको स्रोतको दाबी छ । तर, उनीहरुको प्रस्तावलाई ओलीले ठाडै अस्वीकार गरेपछी उनिहरु तर्सेको बुझिएको छ । उनिहरुको प्रस्तावमा ओलीले एमाले नाम छोड्ने वा बहुदलीय जनवाद छोड्ने कुरा सिधै माधव नेपाललाई दिनु जस्तै हो भन्ने जवाफ दिएको स्रोतको भनाई छ ।
भेलामा सहभागीमध्ये एक नेताले त आफुलाई एमालेमा बस्न मन नै छैन, माओवादीमा फर्कने अवस्था पनि छैन भन्दै राजनीति नै छाड्न सक्ने संकेत गरेका थिए । नेता लेखराज भट्ट, टोपबहादुर रायमाझी र मणि थापाले राजनितीबाट दिक्दारिएको अभिव्यक्ति दिएपनि रामबहादुर थापा बादलले चाहिँ अझै एकपटक ओलीसँग सिरियस कुरा गरौं भनेका थिए । तर,पूर्व पार्टी माओवादी केन्द्रमा फर्केर राजनीति गर्ने मुडमा चाहिँ कोही पनि नभएको स्रोतको भनाई छ ।
प्रचण्डले युद्धको समयमा र शान्तिप्रकृयामा आइसकेपछी पनि पटक–पटक अपमान गरेको र अब फर्केर जाँदा प्रचण्डका कार्यकर्ताले समेत हेप्ने भएकोले त्यहाँ जानुभन्दा राजनीति छोड्नु बुद्धिमानी हुने उनीहरुको तर्क थियो । माओवादीमा जानुभन्दा राजनीति नै छाड्नु ठीक होला भन्दै भट्टले त अब उमेर पनि गईसक्यो राजनीति छाडेर आराम गर्न मन लागेको कुरा सुनाएका थिए ।
उक्त भेलामा अनुपस्थित रहेका अर्का नेता प्रभु शाहले चाहिँ उनिहरुको भन्दा फरक धारणा राख्ने गरेका छन् । उनी अझै सक्रिय राजनीति नछाड्ने तर आवश्यक परेमा अन्य पार्टीमा प्रवेश गर्ने भन्दै आफ्नो समूह थप बलियो बनाउन तराइमै खटिइरहेको आफुनिकटलाई बताउने गरेका छन् ।
माओवादीमा रहँदा बाबुराम भट्टराई पक्षधर मानिएका प्रभु शाहले अहिले पनि आफुलाई बाबुरामको पार्टीले राम्रो हैसियत दिने दाबी गर्दछन् । ‘मलाई माओवादीमा प्रचण्डले पनि अरुलाई भन्दा राम्रो हैसियत दिन्छन्,बाबुरामले पनि नाईं भन्न सक्दैनन्’ शाहले आफ्नो निकटकालाई भन्ने गरेका छन् ।
पछिल्लो समय प्रभु शाहले एमालेमा आफुले राम्रो हैसियत र आफ्नो टिमले सम्मानजनक स्थान नपाएमा एमालेमा बसिरहन आवश्यक नभएको भन्दै कार्यकर्तालाई माओवादी केन्द्रमा फर्केर राजनीति गर्ने अवस्था आउन सक्ने वा जसपामा महत्वपूर्ण स्थान लिएर आफ्नो पूरै टिम समायोजन हुन सक्ने संकेत गरेको उनीनिकट एक प्रदेश सदस्यले बताए । साझापोस्टबाट