चितवन । आउँदो वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि चितवनमा ३३ दल दर्ता भएका छन् । यसअघिको निर्वाचनको तुलनमा यस पटक जिल्लामा राष्ट्रिय मान्यता प्राप्त दलसहित ३३ दल दर्ता भएको जिल्ला निर्वाचन कार्यालय चितवनले जनाएको हो । यसअघि २०७४ सालको निर्वाचनमा २४ दल दर्ता भएका थिए ।
निर्वाचन कार्यालयले जिल्लाभर निर्वाचन अधिकृतको कार्यालय खुलेपछि वैशाख ११ र १२ गते प्रत्येक स्थानीय तहमा मनोनयन दर्ता गर्ने तयारी गरेको छ । दल दर्ता गरिए पनि सबै दलले भाग लिने सम्भावना भने कम रहेको जिल्ला निर्वाचन अधिकृत भिमशेन कार्की बताउँछन् ।
निर्वाचन अधिकृत कार्कीका अनुसार जिल्लाभर ३ लाख ९७ हजार ६८५ मतदाता रहेका छन् । जसमध्ये २ लाख ४ हजार ६६६ जना महिला, १ लाख ९३ हजार १८ जना पुरुष र १ जना तेस्रो लिङ्गी रहेका छन् ।
कुल मतदातामध्ये भरतपुर महानगरपालिकामा १ लाख ८५ हजार ७५२, रत्ननगर नगरपालिकामा ५२ हजार ६४२, खैरहनीमा ४३ हजार ५३१, कालिकामा ३१ हजार १५७, राप्तीमा ४० हजार ६४९, माडीमा २८ हजार ३२० र इच्छाकामना गाउँपालिकामा १५ हजार ६३४ मतदाता रहेका छन् ।
जिल्लका सात वटा स्थानीय तहमा मूख्य निर्वाचन अधिकृत खटाइने कार्यालयले जनाएको छ । चितवनका सबै स्थानीय तहका निर्वाचन अधिकृतले नियुक्ति लिइसकेका छन् । नियुक्त भएका सबै अधिकृतहरुलाई प्रदेश सरकारले तालिम समेत दिइसकेको छ । यही वैशाख ८ गते जिल्लाका ६ वटा पालिकामा अधिकृतको कार्यालय स्थापना गरिने जिल्ला निर्वाचन अधिकृत कार्कीले बताए । त्यस्तै भरतपुर महानगरपालिका र मूख्य निर्वाचन अधिकृतको कार्यालय जिल्ला कारागार अगाडि उद्योग संघको उद्योग प्रशिक्षण प्रतिष्ठानमा राखिने उनले बताए ।
कर्मचारी कति खटिन्छन् ? परिचालन कहिले गर्ने ?
यसपटकको निर्वाचनमा जिल्लभर १६१ मतदान केन्द्र रहनेछन् । एक मतदान केन्द्रमा ८ जना कर्मचारी परिचालन गरिने भएको छ । निर्वाचन अधिकृत कार्कीका अनुसार जिल्लामा ५०० भन्दा कम मतदाता भएका केन्द्रमा ७ जना र ५०० भन्दा बढी मतदाता भएको केन्द्रमा ८ जनाका दरले कर्मचारी खटिनेछन् । उनी भन्छन्, ‘हामीले विभिन्न कार्यालयबाट कर्मचारी माग गरिसकेका छौँ । वैशाख ९ गतेसम्ममा मूख्य निर्वाचन कार्यालयमा वितरण गर्ने तयारी भएको छ ।’
निर्वाचन अधिकृतको जिम्मा कुन पालिकामा कसलाई ?
भरतपुर महानगरपालिकाका लागि न्यायाधीश मूख्य निर्वाचन अधिकृत प्रकाशकुमार अधिकारी नियुक्त भएका छन् । त्यस्तै रत्ननगर नगरपालिकामा बिनोदकुमार गौतम, खैरहनीमा सरस्वती पौडेल, कालिकामा महेशप्रसाद खत्री, राप्तीमा श्यामप्रसाद दाहाल, माडीमा चुडामणि शर्मा गौतम र इच्छाकामनामा ईश्वर आचार्य नियुक्त भएका छन् । सबै पालिकामा ८ गते कार्यालय स्थापना हुने बताइएको छ ।
मतदान स्थलमा मनोनयन दर्ता भइसकेपछि २१ र २२ गते गरी दुई दिनसम्म मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिने र २७ गतेदेखि मतदान स्थलमा परिचालन गरी सोही दिन मतदाता परिचय पत्र वितरण गरिने निर्वाचन कार्यालयले जनाएको छ ।