नवलपरासी।जिल्ला प्रहरी कार्यालय नवलपरासी (बागमती सुस्ता पश्चिम) ले ९ महिनाको अवधिमा प्रहरीले ६ करोड ९ लाख ४१ हजारको राजश्व दाखिला गरेको छ । ५ करोड ४६ लाख ६९ हजार २८९ मुल्य बराबरको भन्सार छली अवैध मालसामान (हरियो केराउ, बिभिन्न किराना सामान, हार्डवेअरको सामान,लत्ता कपडा, बिभिन्न ईलेक्ट्रोनिक सामान, सवारी साधनका पार्टपुर्जा तथा पशु तथा चौपायाजन्य) बरामद गरी आवश्यक कारवाहीको लागि भन्सार तथा राजश्व अनुसन्धान कार्यालयमा बुझाइएको प्रहरीको भनाइ छ ।
त्यसैगरी यस अवधिमा नदीजन्य पदार्थको अवैध उत्खननमा संलग्न ४७ वटा ट्याक्टर, २ वटा अन्य सवारी साधन समेतलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि बुझाइएको छ । जसबाट ८ लाख ४३ हजार ४ सय ३७ मुल्य बराबर राजश्व दाखिला भएको छ ।
साथै यसै अवधीमा ३५ लाख ९० हजार स्रोत नखुलेको रकमसहित ४ जनालाई पक्राउ गरी कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय बुटवल बुझाइएको छ । यसै अवधिमा जिल्ला प्रहरी कार्यालय तथा मातहत समेतबाट ११ लाख ६२ हजार ७९३ मुल्य बराबरको अवैध काठ र ६ लाख ७५ हजार ५ सय मुल्य बराबरको जडिबुटी समेत बरामद गरी डिभिजन वन कार्यालयमा बुझाएको छ । यसरी यस अवधीमा अवैध मालसामान, अवैध नदीजन्य पदार्थ उत्खनन् कारवाही, श्रोत नखुलेको रकम, अवैध काठ तथा जडिबुटी समेत गरी कुल जम्मा ६ करोड ९ लाख ४१ हजार २१ मुल्य बराबरको राजश्व दाखिला भएको छ ।