चितवन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङले सत्तारुढ पाँच दलीय गठबन्धन भए पनि भरतपुर महानगरपालिका नेपाली कांग्रेसले यसपटक कुनै हालतमा नछोड्ने बताएका छन् । उनले यसपटक भरतपुर महानगर प्रमुख रेनु दाहालले नेपाली कांग्रेसका उम्मेदवारलाई जिताउनुपर्ने बताए ।
चितवन प्रेससँगको कुराकानीमा उनले पहिला माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाललाई जिताएको र यसपटक रेनु दाहालले महानगरमा नेपाली कांग्रेसको उम्मेदवारलाई जिताउनुपर्ने बताए । उनले भने, ‘कुनै हालतमा भरतपुर महानगर छोड्नेवाला छैनौँ, पहिला रेनुलाई सहयोग गरेका छौँ, आलापालो हुन्छ, अहिले रेनुले हामीलाई सहयोग गर्नुपर्छ ।’उनले भोलिदेखि काठमाडौँमा चल्ने नेपाली कांग्रेसको केन्द्रीय बैठकमा आफू जान लागेको बताउँदै भने, ‘मैले दह्रोसाथ केन्द्रीय बैठकमा भन्नेछु, भरतपुर महानगरमा गठबन्धन गरेर फेरि कांग्रेसले हँसियाहथौडामा भोट हाल्ने अवस्था आउन दिँदैनौँ, माओवादी केन्द्रसँग गठबन्धन भयो भने पनि यसपटक कांग्रेसको पालो हो ।’
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चितवन आएर आगामी तीन तहै चुनावमा नेपाली कांग्रेससँग गठबन्धन हुने दाबी गर्दै चितवन कांग्रेसले भनेर केही नहुने बताएका थिए । यस विषयमा पनि नेता गुरुङले भने, ‘प्रचण्डलाई भोट हाल्ने चितवनका जनताले हो, माथिले होइन, माथि गठबन्धन गरेर हुँदैन । संसदीय चुनावमा के हुन्छ पछिका कुरा हो तर स्थानीय चुनावमा महानगरमा कांग्रेसका दावी रहन्छ ।’
‘कुनै हालतमा भरतपुर महानगर छोड्नेवाला छैनौँ, पहिला रेनुलाई सहयोग गरेका छौँ, आलोपालो हुन्छ, अहिले रेनुले हामीलाई सहयोग गर्नुपर्छ ।’
स्थानीय तहको निर्वाचनको मिति घोषणा भएपछि पहिलो पटक आज गृह जिल्ला चितवन आएका प्रचण्डले स्थानीय तहको चुनावमा पनि केन्द्रबाट नै गठबन्धन हुने बताएका थिए । चुनावी गठबन्धनको विषयमा माथिबाट निर्णय हुने र चितवन कांग्रेसले भनेर केही नहुने प्रचण्डको भनाइ थियो ।
यस विषयमा नेता गुरुङले भने, ‘भोट माथिले हाल्ने हो ? चितवनका जनताले हाल्ने होला नि ! चितवनका जनताले कहिल्यै रुखमा भोट हाल्न नपाउने ?’ केही दिनअघि नेपाली कांग्रेस चितवनको कार्यसमितिको पद हस्तान्तरण कार्यक्रममा केन्द्रीय सदस्य गुरुङले यसपटक कांग्रेसले रुखमा भोट हाल्ने अवस्था नबने आफू केन्द्रीय सदस्य नरहने बताएका थिए ।