चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेले सुकुमबासीलाई झुक्याउने योजना निस्सा ल्याइएको र त्यसको नाममा चन्दा उठाइएको आरोप लगाएका छन् ।
आज चितवनको माडीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्रीसमेत रहेका पाण्डेले चितवनको निकुञ्जमा आकाशे पुलको सपना बाँड्नेहरु कता गए भन्दै प्रश्न गरेका छन् । उनले भने, ‘चुनावका बेला बाँडेका सपनाहरु धेरै पूरा भए होलान् भन्ने मैले सोचेको थिए । तर, विकास निर्माणको काम जहाँको त्यही रहेछ ।’ उनले माडीका जनतालाई निर्वाचित जनप्रतिनिधिले पाँच वर्ष भ्रमको खेती गरेर झुक्याएको आरोप लगाए ।
उनले भने, ‘जबसम्म राष्ट्रियस्तरको योजना ल्याएर नापी गरिँदैन तबसम्म जनता झुक्याउनेबाहेक अरु काम हुँदैन ।’ उनले निस्सा बाँडेर भ्रमको खेती गर्नेहरुको भण्डाफोर गर्न निर्देशन दिए । माडीमा मालपोत कार्यालय स्थापना, तटबन्ध, सडक र पुल निर्माणमा काम आफूले गरेको उनले दावी गरे ।