दमौली।तनहुँको घिरिङ गाउँपालिकास्थित रेडक्रस सोसाइटी भगवतीपुर उपशाखाले एम्बुलेन्स सेवा सञ्चालन गर्ने भएको छ । ग्रामीण भेगका सर्वसाधारणलाई सेवा दिने उद्देश्यसहित उपशाखाले एम्बुलेन्स सञ्चालन गर्न लागेको हो । उपशाखाले एम्बुलेन्स खरिदका लागिस्थापना गरेको कोषमा रु ४० लाख सङ्कलन गर्ने लक्ष्य रहेकामा हालसम्म रु एक लाख २१ हजार ३१६ सङ्कलन भएकोे सभापति मीनबहादुर कार्कीले जानकारी दिनुभयो । उपशाखाका पदाधिकारीबाट उक्त रकम सङ्कलन भएको उहाँले बताउनुभयो ।
“यस भेगमा एम्बुलेन्स नहुँदा सर्वसाधारणले सास्ती बेहोर्दै आएका छन्, बिरामी भएका बखत स्वास्थ्य संस्थासम्म जान निजी सवारी साधनमा महङ्गो शुल्क तिर्नुपर्ने बाध्यता छ,” उहाँले भन्नुभयो । एम्बुलेन्स खरिदका लागि गाउँपालिकासँग पनि आर्थिक सहयोग माग गरिएको छ । गाउँपालिकाका अध्यक्ष रनबहादुर रानालाई भेटी रु १० लाख उपलब्ध गराउन आग्रह गरिएको सभापति कार्कीले बताउनुभयो । उपशाखाले कोषाध्यक्ष हेमबहादुर थापाको संयोजकत्वमा रकम सङ्कलनका लागि समिति गठन गरेको छ । “सेवाको क्षेत्र वृद्धि गरी आजीवन सदस्य थप गर्न र रकम सङ्कलन अभियानलाई पनि तीव्रता दिएका छौँ,” उहाँले भन्नुभयो ।
रेडक्रसका विभिन्न उपशाखाले एम्बुलेन्स सञ्चालन गर्न थालेका छन् । यसअघि व्यास नगरपालिका–१० दुम्सीकोट उपशाखाले पनि जनस्तरबाट रकम सङ्कलन गरी एम्बुलेन्स सञ्चालनमा ल्याइसकेकोे छ ।
विसं २०७७ भदौ १९ गतेदेखि थालिएको अभियानमार्फत रु २९ लाख १४ हजार २१९ सङ्कलन भएकामा रु १३ लाखको लागतमा एम्बुलेन्स खरिद गरिएको दुम्सी उपशाखाका सभापति रामदत्त पौडेलले जानकारी दिनुभयो । “बिरामी परेको अवस्थामा एम्बुलेन्स नपाइने, महङ्गो शुल्क तिरेर गाडी रिजर्भ गरेर अस्पतालसम्म जानुपर्ने बाध्यता अन्त्य गर्नका लागि एम्बुलेन्स सञ्चालनमा ल्याएका हाँै,” उहाँले भन्नुभयो, “यो अभियानले सबै वडावासीलाई सहज भएको छ ।”
महिलालाई सीप सिकाउँदै सहकारी
व्यास नगरपालिका भित्र उत्कृष्ट सहकारीका रुपमा पहिचान बनाएको व्यास बचत तथा ऋण सहकारी संस्थाले महिलालाई उद्यमी बनाउन सीप सिकाउन थालेको छ । वडा नं ३ स्थित उक्त संस्थाको महिला उपसमितिले दमौली आसपासका महिलालाई उद्यमी बनाउन सीप सिकाउन थालेको हो ।
घरेलु तथा साना उद्योग कार्यालयको आर्थिक सहयोगमा फुर्सदिला महिलालाई घरमै बसी आयआर्जनमा सम्लग्न गराउने उद्देश्यसहित सहकारीले गुडिया बनाउने तालिम सञ्चालन गरेको र सो तालिममा २५ महिलाको सहभागिता रहेको छ ।
सहकारीका शेयर सदस्य र शेयर सदस्य नभएका महिलालाई पनि सीपसँग जोड्ने र सीपसँगै आयआर्जन अगाडि बढाउन तालिम प्रदान गरिएको सहकारीका अध्यक्ष प्रदीपराज अधिकारीले बताउनुभयो । “हरेक व्यक्ति उत्पादनसँग जोडिनुपर्छ, त्यसैलाई मध्यनजर गर्दै महिलाहरुलाई गुडिया बनाउने तालिम दिन लागेका हाँै,” उहाँले भन्नुभयो, “सीप सिकिसकेपछि आवश्यक पैसाको व्यवस्था पनि सहकारीमार्फत गर्न सकिन्छ ।” बजारमा अहिले गुडियाको माग उच्च रहेकाले तालिममा सिकेका सीपलाई व्यवहारमा उतार्न अध्यक्ष अधिकारीले आग्रह गर्नुभयो ।
समय अभावका कारण आजभोलि छोटो समययावधिको तालिमको माग बढिरहेको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख नारायणप्रसाद ढकालले बताउनुभयो । गुडियाको माग उच्च रहेकाले योे तालिम प्रभावकारी हुने उहाँको भनाइ थियो । “धेरै लामो अवधिको तालिम लिन फुर्सद पनि नहुने भएकाले छोटोछोटो अवधिको तालिम अहिले प्रभावकारी बन्दै गइरहेको छ,” कार्यालय प्रमुख ढकालले भन्नुभयो, “फुर्सदको समयमा, घरमा बसी बसी, टिभी हेर्दै पनि गुडिया बनाउन सकिने र यसको माग पनि उच्च छ ।”
घरेलु कार्यालयले विभिन्न सङ्घसंस्था र कार्यालयकै आयोजनामा माग र रुचि अनुसारका तालिम सञ्चालन गर्दै आइरहेको उहाँको भनाइ थियो । गुडिया बिक्रीबाट दैनिक एक हजारसम्म आम्दानी हुने गरेको छ । यही चैत १५ गतेसम्म सञ्चालन हुने तालिममा आरती थापाले प्रशिक्षण दिनुहुनेछ । तालिम दैनिक पाँच घण्टा सञ्चालन हुने महिला उपसमितिका संयोजक बेलु श्रेष्ठले जानकारी दिनुभयो ।
विसं २०६४ मा स्थापित सहकारीले आफ्नै भवनबाट सेवा दिइरहेको छ । सहकारीले आफ्ना शेयर सदस्यलाई स्वरोजगार तथा उद्यमशील बनाउन सीपमूलक तालिम सञ्चालन गर्ने नीति लिएको छ । जोखिम न्यूनीकरणका लागि सदस्यहरुलाई बीमा गर्न प्रोत्साहन गर्ने, सदस्य विस्तार तथा कारोबार विस्तारलाई ध्यानमा राखी कम्तीमा एउटा सेवा केन्द्र विस्तार गर्ने, नगद सुरक्षाका लागि काउन्टर, सेफभल्ट र बाटोको बीमा कार्यक्रमलाई निरन्तरता दिने, समान प्रकृति भएका संस्थाहरुसँग मर्ज गर्नेजस्ता नीति पनि लिइएको सहकारीका उपाध्यक्ष प्रेमप्रसाद पौडेलले जानकारी दिनुभयो ।
गाउँपालिकाको प्रशासकीय भवन निर्माण
तनहुँको ऋषिङ गाउँपालिकाको प्रशासकीय भवन निर्माण भएको छ । आफ्नै भवनबाट सेवा प्रवाह गर्ने उद्देश्यले सो भवन निर्माण गरिएको हो । विसं २०७६ असोज १६ गतेदेखि भवन निर्माणको काम सुरु भएको थियो ।
तत्कालीन गाउँ विकास समितिको पुरानो भवनबाट सेवा प्रवाह हुँदै आएकामा जनप्रतिनिधि निर्वाचित भएर आएपछि नयाँ भवन निर्माण थालिएको थियो । साँघुरो भवनबाट सेवा प्रवाहमा असहज भएपछि नयाँ भवन निर्माण गरिएको गाउँपालिकाका प्रवक्ता विजयकुमार दरैले जानकारी दिनुभयो । “नयाँ भवन निर्माण भएपछि अब सहज रुपमा जनतालाई सेवा प्रवाह गर्न सजिलो हुनेछ,” उहाँले भन्नुभयो । रु तीन करोड ६१ लाखको लागतमा साभवन निर्माण भएको हो ।
यही चैत १० गते प्रधानमन्त्री शेरवहादुर देउवाको प्रमुख आतित्थ्यमा भवन उद्घाटन गर्ने तयारी गरिएको छ । गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले प्रधानमन्त्री सहभागी हुने कार्यक्रमलाई भव्य र सभ्य बनाउने गरी तयारी थालिएको जानकारी दिनुभयो ।