भरतपुर । महालेखा परीक्षकको कार्यालयले रत्ननगर नगरपालिकाले आर्थिक वर्ष २०७५/७६ मा डेढ करोडभन्दा बढी रकम नियमविपरीत खर्च भएको देखाएको छ । तर,रत्ननगर नगरपालिकाले महालेखाले देखाएको नियमविपरीत भनिएका जति खर्च छन्, ती सबै रकम बेरूजु भएको जनाएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले भने, ‘बेरूजु भ्रष्टाचार र अनियमितता होइन, रत्ननगरको बेरूजु रकम नियमित गर्ने र कागजात पेस गर्ने रहेको छ । नियमित गर्ने नगरसभाबाट पास हुन्छ र बेरूजु हट्छ, कागजात पेस गर्न भनेको कुरा कागजात संकलन गरेर महालेखामा पठाउँछौँ ।’
महालेखा परीक्षकको कार्यालयको अन्तिम लेखा परीक्षण प्रतिवेदनमा डेढ करोडभन्दा बढी खर्च नियमविपरीत भएको उल्लेख छ । रत्ननगर नगरपालिकाले बिल भपाई नगरी रकम भुक्तान गरेको, सामग्री खरिदमा प्रक्रिया पूरा नभएको, प्रमाणबेगर खर्च भएको, नियमअनुसार पेस्की फस्र्यौट नभएको, अन्य काम कारबाहीमा नियमविपरीत खर्च भएको महालेखाको अन्तिम लेखा परीक्षण प्रतिवेदनमा भनिएको छ ।
रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले असुलउपर गर्ने रकम सबै असुल गरिने बताए । उनले भने, ‘असुलउपरको लागि पत्र पठाइसकिएको छ, रकम आइरहेको पनि छ । नपुगेका कागजातहरु संकलन गरेर महालेखामा पठाइसकिएको छ ।’इचितवनपोस्टबाट