चितवन । चितवनको इच्छाकामना गाउँपालिका वडा नं २ रमाइलो डाँडामा भएको मोटरसाइकल दुर्घटनामा मृत्यु हुने दुई जना आमाछोरा हुन् भने मोटरसाइकल चालक पनि उनीहरुकै आफन्त हुन् ।
प्रदेश २–०३–००२ प ५९८६ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो । सडकको मोडमा भएको दुर्घटनामा इच्छाकामना गाउँपालिका वडा नं २ बस्ने ३४ वर्षीय नवीन गुरूङ, इच्छाकामना गाउँपालिका वडा नं ३ बस्ने ३० वर्षीया प्रतिभा गुरूङ र उनका पाँच वर्षीय छोरा आरोन रहेका छन् । मोटरसाइकल चालक गुरुङ प्रतिभाकी माइतीतर्फका आफन्त भएकी चितवन प्रहरी प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए ।
मोटरसाइकल सडकबाट करिब ४०० मिटर तल खसेको उनी बताउँछन् । इलाका प्रहरी कार्यालय टाँडी र प्रहरी चौकी जुटपानीबाट खटिएको टोलीले उनीहरुको शवलाई घटनास्थलबाट निकालेको थियो । मोटरसाइकल टुक्राटुक्रा भएको छ । मोटरसाइकल अनियन्त्रित भएर खसेको हो वा अन्य सवारी साधनको ठक्करबाट खसेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।